
११ असार, काठमाडौं । देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको सहर पनि भनिन्छ ।
काठमाडौंका पाइला पाइलामा अनेकौं देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं सहरको अवस्था छ ।
मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । आज काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवनका मूर्ति भेटिन्छन् ।
कतै रुख उम्रेर ढल्नै लागेेको मन्दिर, पानीले खिइएका, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरूमा छन् । तर संरक्षण भने अझै भएको छैन । लापरबाही छ । मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् ।
मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ ।
फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो सहरका लागि नौलो कुरा होइन । खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ ।
केही ठाउँमा भने चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन् । तर मूर्तिको र मन्दिरको संरक्षण गर्न भने पहलकदमी हुन सकेको छैन ।
तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल











प्रतिक्रिया 4