+
+

क्यानको आर्थिक प्रतिबन्ध हटेपछि आईसीसीको टोली काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते १९:१३

११ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको कन्ट्रोल फण्डिङ (आर्थिक प्रतिबन्ध) हटाएपछि अब क्यानले स्वतन्त्र रुपमा खर्च गर्न पाउने भएको छ ।

क्यानमाथिको कन्ट्रोल फण्डिङ हटाएपछि शुक्रबार नेपाल आएको आईसीसी प्रतिनिधिले सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रममा क्यानमाथिको कन्ट्रोल फण्डिङ हटेको र अब क्यानले स्वतन्त्र रुपमा खर्च गर्न पाउने बताएको हो ।

‘अब फण्डमा कन्ट्रोल हुँदैन । क्यानले स्वतन्त्र रुपमा खर्च गर्न पाउँछ’ आईसीसीका डेभलप्मेन्ट चेयरम्यान इमरान ख्वाजाले भने ।

त्यसका लागि क्यानले विश्वासिलो वातावरण भने बनाउनुपर्ने उनको भनाइ छ । ख्वाजाले नेपालको निलम्बन हटाउनका लागि विभिन्न चरणमा काम गरेको र कन्ट्रोल फण्डिङ हटाउनु अन्तिम चरणको काम भएको बताए ।

क्यानको पछिल्ला गतिविधिहरुबाट सन्तुष्ट रहेपछि आईसीसीले क्यानमाथि कायम रहेको कन्ट्रोल फण्डिङ हटाएको थियो । यस्तै आईसीसी आईसीसी डेभलप्मेन्टका जनरल म्यानेजर विलियम्स ग्लानराईटले क्यानको कामबाट आफूहरु सन्तुष्ट रहेको बताए ।

यस्तै क्यान अध्यक्ष चतुरबहादुर चन्दले कन्ट्रोल फण्डिङ हटाउन आईसीसीका प्रतिनिधिहरुको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । ‘आईसीसीले निलम्बन फुकुवा गरेपनि कन्ट्रोल फण्डिङ थियो । हामीले आईसीसीका शर्तहरु पालना गर्‍यौँ । एसोसिएट टिमको रुपमा सबै पालना गर्नुपर्ने काम गरेपछि आईसीसीले कन्ट्रोल फण्डिङ हटाएको हो,’ चन्दले भने ।

यसबाट नेपाली क्रिकेटको थप विकासका लागि उर्जा आएको र अब क्यानले आफैं काम गर्न सक्ने अवस्था आएको पनि चन्दले बताए ।

यस्तै क्यान कार्यवाहक सचिव प्रशान्त मल्लले अब स्वतन्त्र रुपमा खर्च गर्न पाउने बताए । ‘पहिला बिल भर्पाई बनाएर पठाएपछि आईसीसीबाट पैसा आउँथ्यो । अब हामीले स्वतन्त्र रुपमा खर्च गर्न पाउँछौँ’ उनले भने ।

क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन् २०१६ अप्रिलमा निलम्बन गरेको थियो । क्यानको नयाँ कार्यसमिति चयन भएपछि करिब साढे ३ वर्षपछि आईसीसीले आर्थिक प्रतिबन्ध कायम राखेर अरु प्रतिबन्ध फुकुवा गरेको थियो ।

‘निलम्बन फुकुवा गरेपछि पनि कन्ट्रोल फण्डिङ हट्न साढे दुई वर्ष लाग्यो । किनभने हामी अडिट पठाउँथ्यौँ अनि सुधार गर्नुपर्ने कुरा हुन्थ्यो । हामीले क्लिन र सन्तुष्ट अडिट रिपोर्ट पठाएपछि आईसीसीले यसलाई हटाएको हो’ मल्लले अघि भने ।

आईसीसीका डेभलप्मेन्ट चेयरम्यान इमरान ख्वाजाले नेपाललाई क्रिकेटको सम्भावना भएको देशको रुपमा हेरेको बताए । नेपालले क्षमता अनुसार अघि बढे कुनै दिन एशोसिएट राष्ट्रमध्ये शीर्षस्थानमा पुग्न सक्ने बताए ।

आईसीसी प्रतिनिधि र मन्त्रीबीच भेटवार्ता

शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्ट चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टकाका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो ।

सो अवसरमा मन्त्री गहतराजले नेपाल सरकारले क्रिकेटको विकासमा ध्यान केन्द्रित गरी क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको अवगत गराए । मन्त्री गहतराजले नेपालमा क्रिकेटले पनि फुटबल सरहनै लोकप्रियता हासिल गरेको बताउँदै आईसीसीले नेपाली क्रिकेटको विकासमा गरेको लगानीका लागि धन्यवाद दिए ।

राखेपका सदस्यसचिव घिसिङले आईसीसी र परिषद्को दीर्घकालीन सम्बन्धको विकास गर्न क्रिकेट एकेडेमी र टेक्निकल हबको विकास र निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिदै नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न इच्छुक रहेकाले त्यसमा आईसीसीको सहयोग आवश्यक रहेको बताए ।

आईसीसी प्रतिनिधिले नेपालमा क्रिकेटको ठूलो सम्भावना रहेको बताउदै विद्यालयमा क्रिकेटको विकास गर्न सके सरकारको मात्र भर परिरहनु पर्ने अवस्थाको अन्त्य हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?