
काठमाडौं । जगदीश घिमिरेद्वारा लिखित कथा ‘साबिती’मा आधारित भएर थिएटर भिलेजले नाटक मञ्चन गर्ने भएको छ । असार १७ देखि १९ गतेसम्म शिल्पी थिएटरमा नाटक मञ्चन हुन लागेको हो ।
यसअघि केही नेपाली नाटकमा समेत अभिनय गरिसकेकी भारतीय रंगकर्मी अनुराधा मजुमदार ‘साबिती’को लागि काठमाडौंमा छिन् । उनी अहिले नाटकको रिहर्सलमा व्यस्त छिन् । यसअघि खुमा र बाँकी उज्यालो नाटकमा समेत अभिनय गरेकी उनी सौगात मल्ल र दयाहाङकी अभिनय गुरुआमा पनि मानिन्छिन् । यसअघि थिएटर भिलेज स्थापनाको बेला मञ्चन भएको नाटक पुनः मञ्चन हुन लागेको हो ।
१० वर्षअघि मञ्चन हुँदाहुँदै प्रमुख अभिनेता सुनिल पोखरेल बिरामी भएपछि त्यतिबेला नाटक रोकिएको थियो । नाटक साबिती यसअघि भारतको दिल्ली र जम्मुमा आयोजना भएका अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भइसकेको छ ।
‘मुख्य महिला पात्रको दृष्टिकोणमार्फत नाटक प्रस्तुत गर्न लागेका हौं,’ अनलाइनखबरसँग निर्देशक विमल सुवेदीले भने, ‘यसले भ्रष्ट समाजको ढोंगीपनलाई प्रस्तुत गर्छ ।’ नाट्य रुपान्तरण निर्देशक सुवेदी र सुरज सुवेदीले गरेका हुन् ।
अनुराधासँगै नाटकमा सुजन वली र साजनकुमार सुनुवारको पनि मुख्य भूमिका छ । नाटकका सहायक निर्देशक जेनिश सुनुवार छन् भने दिलीप रानाभाट प्रोडक्सन डिजाइनर हुन् ।
थिएटर भिलेजले हालै मदन पुरस्कार विजेता पुस्तक ‘पल्पसा क्याफे’ नाटक मञ्चन गरेको थियो ।
प्रतिक्रिया 4