
१२ असार, विराटनगर । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ४ ले विराटनगरका निवर्तमान मेयर भीम पराजुलीलाई कारबाहीको सिफारिस गरेको छ ।
निवर्तमान मेयर तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य पराजुलीले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेको आरोपसहित कारबाहीका लागि जिल्ला समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति विनोद बस्नेतले बताए ।
नेपाल कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का सभापति विनोद बस्नेतका अनुसार वडा समिति र उम्मेदवारले पनि पराजुलीले अन्तर्घात गरेको प्रतिवेदन क्षेत्रमा बुझाएका थिए । उनले विराटनगर वडा नम्बर ३ बाट कारबाहीका लागि पूर्व मेयर पराजुलीसहित सात जनाको नाम जिल्लामा पठाइएको बताए । वडाले जेठ २४ गते नै प्रतिवेदन दिए पनि क्षेत्रले असार ९ गते कारबाहीका लागि सिफारिस गरेको उनको भनाइ छ ।
‘वडा समितिले पठाएको कारबाहीको सिफारिसलाई हामीले जिल्लामा पठाएका छौं,’ उनले भने,‘ उम्मेदवारले पनि उहाँ(पराजुली)ले अन्तर्घात गरेको रिपोर्ट दिनुभएको छ ।’
वडा नम्बर ३ बाट पूर्व मेयर पराजुलीसँगै उनका दाजु चुणामणि पराजुली, पुष्प निरौला, धर्म बानिया, कृष्ण भण्डारीलगायतलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
विराटनगरको मेयरमा कांग्रेसबाट पराजुली पनि आकांक्षी थिए । तर पार्टीले अन्तिम समयमा नागेश कोइरालालाई टिकट दिएको थियो । कोइराला ३० हजार १७० मतसहित मेयर निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत ल्याएका थिए ।
प्रतिक्रिया 4