
१२ असार, जनकपुरधाम । सिरहामा किशोरहरु खेलिरहेका बेला गोली चल्दा एक जना घाइते भएका छन् ।
लहान नगरपालिका- २२ मा गोली चल्दा १९ बर्षीय सुशान्त चौधरीले पेस्तोल पड्काउँदा गोली लागेर १८ बर्षीय दिलिप मुखिया घाइते भएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए ।
गोली लागेर घाइते भएका दिलिपको स्थानीयस्तरमा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनको पेटमा गोली लागेको छ ।
दिलिप, सुशान्त र सुरज मुखिया एकै ठाउँमा खेलिरहेको अवस्थामा गोली चलेको प्रहरीको भनाइ छ । डीएसपी मैनालीका अनुसार सुशान्तले एक्कासी गोली चलेको बताए पनि यस विषयमा अनुसन्धान छ ।
सुशान्तले आफूलाई सुरजले पेस्तोल दिएको र सुरजले पनि अर्कै व्यक्तिबाट पेस्तोल पाएको खुलेको छ । ती व्यक्तिको बारेमा अनुसन्धान र खोजी भइरहेको मैनालीले बताए ।
प्रहरीले घट्नास्थलबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने ५ राउण्ड गोली र घट्नास्थल नजिकैको बाँसघारीबाट १ थान कटुवा पेस्तोल र ४ राउण्ड गोली बरामद गरेको छ । यस बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4