
१२ असार, काठमाडौं । आइतबार नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ को बिन्दूमा पुग्यो । निरन्तर ओरालो लागेको बजारमा आइतबार एकाएक उछाल आउँदा समग्र बजार ५.१० प्रतिशतले बढ्यो भने कारोबार रकम पनि महिना दिन यताकै उच्च रह्यो ।
आइतबार दोस्रो बजारमा कारोबारमा आएका २३० कम्पनी मध्ये २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने ३२ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेवल अर्थात ९ प्रतिशत भन्दा बढीले नै बढ्यो । त्यसो त दोस्रो बजारमा कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य आइतबार बढेको छ । कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य कम्तिमा ०.५ प्रतिशत देखि बढीमा सर्किट लेभलमा बढेको छ ।
बजारको नियमकहरु नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सजेन्जकाअनुसार बजारले तत्कालै प्रतिक्रिया जनाउने गरी हालसालै कुनै नीतिगत परिवर्तन र निर्णय भएको छैन् । नेपाल बैैंकर्स संघकाअनुसार बजारमा तरलता अभावको अवस्थामा पनि खासै सुधार भएको छैन् ।
यस्तो स्थितिमा बजारको वृद्धिलाई स्वभाविक मान्न नसकिने जानकारहरू बताउँछन् ।
आइतबारको बजारमा केही नयाँ र फरक तथ्याङ्कहरु देखिएका छन् । आइतबार कारोबार रकम ठिक एक महिना पछिकै सबै भन्दा धेरै हो । २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो । यसअघि गत जेठ १२ गते २ अर्ब २६ करोड ९७ लाख ५१ हजारको सेयर खरिद बिक्री भएको थियो ।
यस्तै कुल ट्रान्जेक्सन र कारोबारमा आएको सेयरको संख्या पनि चार महिना यताकै उच्च हो । आज ५८ लाख १३ हजार १०३ कित्ता सेयर ४४ हजार कुल कारोबार भएको छ जुन फागुन २९ पछि कै धेरै हो । यस्तै कुल ट्रान्जेक्सन पनि वैशाख १२ यताकै धेरै हो ।
बजार बढेको मौका पारी आज सेयर बिक्री गरेको ठूला सेयर लगानीकर्ता दीलिप श्रेष्ठ बताउँछन् । आइतबारको बजार बढ्नुमा कुनै पनि नीतिगत निर्णय र व्यवस्था कारण नभएको उनले बताए ।
आइतबारको बजारमा व्यवहार (बैंकको किस्ता तिर्ने, ऋण तिर्ने) मिलाउन सेयर बेच्ने लगानीकर्ता र सस्तोमा सेयर उठाउन पैसा भएका लगानीकर्ताको प्रतिस्पर्धा देखिएको श्रेष्ठले बताए । ‘पैसा भएका मानिसहरुले बजारबाट सेयर किनिरहेका छन् । बजार बढेका बेला बैंक व्यवहार मिलाउन बिक्री गरेको देखिन्छ,’ श्रेष्ठ भन्छन् ‘यसमा कुनै दिगोपना देखिन्न, किन्ने र बेच्नेको असन्तुलन जुन सुकै बेला हुनसक्छ । ’
अर्का एक ठूला लगानीकर्ताले भने बजारमा अस्थायी बाउन्स ब्याक भएको बताए । झण्डै एक महिनादेखि बजार निरन्तर घट्नु र मौद्रिक नीति नजिक हुनुले बजार बढेको उनले बताए ।
विगतमा पनि मौद्रिक नीतिको मुखैमा बजार बढ्ने गरेको ति लगानीकर्ता बताउँछन् । ‘बजार बाउन्स ब्याकमा गएको हो’, उनी थप्छन् ‘मौद्रिक नीति र चौथो त्रैमासिक रिपोर्ट पनि ठिकै आउँछन् भन्ने विश्वासमा लगानीकर्ताले शेयर किनेको हुुनुपर्छ ।’
बजारमा तरलताको अवस्था टाइट नै रहेका कारण पनि बजारको वृद्धि दिगो हुनेमा शंका रहेको उनलेब ताए ।
नेपाल इन्भेष्टर्स फोरम सचिव विशेश्वर सुवेदी बजारमा यसअघि देखिएको समस्यामा केही सुधार आउँदा लगानीकर्तामा आशा देखिए पनि बजारको भविष्यलाई अर्को केही दिनको बजारको अवस्था कुर्नु पर्ने बताउँछन् ।
आइतबारको बजारमा लगानीकर्ताले आफू पिडित भएकै स्टकहरु किनेको देखिएको भन्दै उनले भने, ‘अदालतको आदेशका कारण मार्जिन कलको समाधानमा घर जग्गा राख्न पाइने भयो,’ उनले थपे, ‘बैंकको डर अब घट्यो । अर्थमन्त्री पनि फेरिने हल्लाले पनि असर गरेको हुनसक्छ । तर बजारमा लहडमा पर्ने अवस्था छैन् ।’
सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जले भने बजारमा आकस्मिक सुधार हुनुपर्ने गरी कुनै नियामकीय सुधार नभएको जनाएको छन् । ‘बजार स्वतन्त्र छ, किन बढ्छ र घट्छ भनेर हामीले भन्न मिल्दैन’ धितोपत्र बोर्डका एक अधिकारीले भने ‘तर, आजै ह्वात्तै बढ्ने गरी कुनै नियामकीय सुधारको निर्णय भएको छैन् ।’
प्रतिक्रिया 4