+
+

वीरगञ्जको मुख्य सडकमा माछा बेच्न रोक, व्यवस्थित ठाउँ दिन माछा व्यापारीको माग

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असार १२ गते २०:५४

१२ असार, वीरगञ्ज । केहि दिन यता वीरगञ्जको मुख्य सडकमा माछा बिक्रीमा रोक लगाइएको छ । नगर प्रहरीले पहिला माछा व्यापारीहरुलाई पसल नलगाउन सम्झाउँछ । अटेर गरेको खण्डमा लखेट्ने गरेको छ ।

विगतमा नगर प्रहरीले एक पटक लखेटेर फर्कने गरेकोमा पछिल्ला दिनमा भने माछा बेच्ने ठाउँमा नै नगर प्रहरी गाडी रोकेर बसेको छ । जसले गर्दा माछा व्यापारीहरुले पसल थाप्न पाइरहेका छैनन् ।

माछा खरिद बिक्रीका लागि वीरगञ्जकै पुरानो होटल सम्झना होटलदेखि कृषि सामग्री कम्पनी लिमिटेडको गेटसम्म हरेक दिन साँझमा निकै भिड लाग्ने गरेको थियो । दुई दर्जन भन्दा बढी माछा व्यापारीले विभिन्न प्रकारका माछा काटेर ग्राहकलाई बिक्री गर्दै आएका थिए ।

व्यवस्थित ठाउँ दिने नगर प्रमुखको आश्वासन

सडकमा माछा बिक्री गर्न नपाएपछि छटपटिएका व्यापारीहरु आइतबार नगर प्रमुखलाई भेट्न गएका छन् ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले मुख्य सडक छेउमा माछा नबेच्न व्यापारीलाई आग्रह गरेका छन् । उनले एक महिना भित्र माछा व्यापारीहरुलाई व्यवस्थित ठाउँ उपलब्ध गराउने आश्वासन समेत दिएका छन् ।
उनले तत्कालका लागि पहिले माछा बेच्दै आएको निजी जग्गामा व्यापार गर्न भनेका छन् ।

नीजि जग्गामा ग्राहक नआउने व्यापारीको गुनासो

वीरगञ्जको मिना बजार कम्प्लेक्स तरकारी तथा फलफुल बजार हो । त्यहाँ माछा पनि बिक्री हुने गरेको छ । तर त्यो पर्याप्त छैन । वीरगञ्जका केहि पुराना माछा व्यापारीहरुले मुर्ली क्षेत्रमा माछा बिक्री गर्दै आएका छन् ।

माछा काटेर बिक्री गर्दा कत्ला निकाल्ने गरिन्छ भने रगत पनि निस्केको हुन्छ । जसले गर्दा माछा बिक्री गर्ने स्थल दर्गन्धित हुने गरेको छ । अझ मुख्य सडकमै माछा बिक्री हुँदा वीरगञ्ज झनै दुर्गन्धित हुने गरेको थियो ।

महानगरले तत्काल बजार लगाउन भनेको निजी जमिनमा यसअघि पनि माछा बजार लागेको थियो । बजार मुख्य सडक भन्दा भित्र पर्ने भएकोले ग्राहक नआउने गरेको गुनासो माछा व्यापारीहरुको छ । माछा व्यापारी असलम राइन नीजि जमिनमा माछा बिक्री नहुने समस्या रहेको बताउँछन् ।

‘निजी जग्गामा सधैं लफडा हुन्छ । ग्राहक नआइदिने हुँदा माछा बिक्री पनि हुँदैन’, उनले भने, ‘सडकमा राख्दा मोटरसाइकलबाटै किनेर लैजान्छन् । दुई चार पैसा कमाइ हुन्छ, बाल बच्चा खान्छन् । स्कुल जान्छन् । ’

सडकमा बिक्री हुने माछा मात्र हैन महानगरले तरकारी र फलफुलको पसल सञ्चालनमा पनि रोक लगाउनुपर्ने माग उनीहरुको छ । ‘ठेलामा अन्य समान सडकमै बेच्न दिने तर माछा बेच्न नदिने ?’, एक माछा व्यापारीले भने ।

अर्कोतिर महानगरले बजार लगाउन भनेको जमिनको भाडा पनि महँगो छ । दुई मिटर जमिनको मासिक दुई हजार तिर्नुपर्छ । माछा व्यापारीहरुले मुख्य सडकमा माछा बिक्री गरे पनि जमिनको भाडा भने तिर्दै आएका रहेछन् ।लकडाउनको पैसा समेत मागेर लिएको उनीहरुको दावी छ ।

माछा व्यापारी महम्मद सहिद अर्काको जग्गामा नभई महानगरले ठाउँ दिएर व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘जहाँ ठाउँ दिन्छन, भाडा दिन्छौं’, उनले भने ‘निजी जग्गामा समस्या छ । जग्गावाला आएर भगाउँछ । भने हामी कहाँ जाने ? ’
अर्का व्यापारी कमरूद्दीन राइन मुख्य सडकमा माछा बेच्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘रोडमा बेच्नु छैन भने महानगरले ठाउँ मिलाईदिनुपर्छ नि’, उनले भने, ‘एक हजार, पन्ध्रसय भाडा तिर्न हामी तयार छौं ।’

समसुद्दीन मियाँ एक महिना माछा बिक्री नभएको खण्डमा धेरै माछा व्यापारीको चुल्हो समेत नबल्ने बताउँछन् । ‘नगरप्रमुखले एक महिना पछि ठाउँको व्यवस्था गर्छौ भनेका छन् । कतिपय यस्ता माछा व्यापारी छन्, जसको माछा बिक्री नगरे बिहान बेलुकाको छाक टर्दैन’, उनले भने, ‘पढेलेखेको छैन, अरू काम जानेको छैन, उनीहरुले एक महिनासम्म के गरेर खाने ?’

व्यापारीहरुले फेटा, सिम्रौनगणबाट ८/१० हजार माछा ल्याउँछन् । माछा बिक्रीबाट दिनको १ हजार देखि १५ सयसम्म कमाइ हुने गरेको दावी उनीहरुको छ । माछा ल्याउन १००÷१५० को बरफ लाग्छ । माछा बिक्रीबाट जसोतसो गुजारा चलाउँदै आएकोमा बिक्री गर्न नपाउँदा समस्या हुने गुलामे मुस्तफाले बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?