
काठमाडौं । फिल्मको चरित्रमा डुब्न कलाकारले के–केसम्म गर्छन् ? केही नेपाली नायिकाले कपाल खौरिए, कोही महिनौं घरबाहिर निस्किए, कोहीले ठमेलको रात्रिजीवन अवलोकन गरे ।
तर अभिनेता प्रदीप खड्काले चाहिं एकान्तकुनादेखि अनामनगरसम्मको करिब ६ किलोमिटर लामो बाटो खाली खुट्टा हिंडेरै नापे । फिल्म ‘प्रकाश’को चरित्र चित्रणमा अभिनेता अनुप बरालले प्रदीपलाई यस्तो चुनौती दिएका थिए जसलाई उनले सजिलै स्वीकार गरे ।
जसअनुसार प्रदीप एकान्तकुनास्थित घरबाट कार्यशाला भएको थलो अनामनगरसम्म हिंडेर आइपुगे । यो कुरा प्रकाश फिल्म छायांकनमा जानु तीन महिनाअघिको कुरा हो ।
प्रदीपले उक्त फिल्ममा जुम्लाको एक विपन्न युवकको भूमिका निर्वाह गर्नुपर्ने थियो र जुम्लामा उनले खाली खुट्टा नै हिंड्नुपर्ने थियो । मानसिक रुपमा तयार नभएका प्रदीपलाई अनुपले यस्तो चुनौती दिएका थिए । ‘उनले सजिलै चुनौती स्वीकारे र चप्पल हातमा समातेर अनामनगससम्म आइपुगे,’ अनुपले अनलाइनखबरलाई भने ।
प्रदीप मास्क लगाएरै हिंडेर आइपुगेका थिए । ‘चरित्रमा डुब्न स्टारले यस्तो गर्नैपर्ने थियो,’ अनुप भन्छन्, ‘किनभने प्रदीप बक्स अफिसमा हिट हिरो हुन्, उनलाई चरित्रमा ल्याउन यस्तो गर्नु जरुरी पनि थियो ।’ अनुपले ‘प्रकाश’को कार्यशाला पनि चलाएका थिए ।
दिनेश राउत निर्देशित फिल्म प्रकाश भदौ १० गते प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया 4