
१३ असार, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो ।
समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउँदै भनिन्, ‘बर्षा सिजनमा पहिले पनि यस्तै (हैजा, झाडापखाला) बढेका थिए । अहिले पनि बढ्न सक्ने खतरा छ । त्यसकारण यो विषयलाई सिरियसली लिन आग्रह गर्ने ।’
समितिमा औषधिको मूल्यवृद्धिका विषयमा पनि छलफल भएको थियो । समितिले गुणस्तरहीन औषधि खरिद नगर्न, उचित मूल्य समायोजन गर्न र म्याद गुज्रेका औषधि खरिद नगर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
नेपालमै औषधि उत्पादनमा प्रोत्साहन गर्नुपर्ने सांसदहरुको सुझावलाई पनि समितिले निर्णयमा समेटेको छ । ‘विदेशबाट भन्दा देशमा उत्पादन भएको औषधिहरु खरिद गर्नमा विशेष ध्यान दिने’ समितिको निर्णयमा भनिएको छ ।
समिति सदस्य नविना लामाले ब्राण्डको नाममा गुणस्तरहीन औषधिको प्रयोग भइरहेको भन्दै सरकारको आलोचना गरेकी थिइन् ।
प्रतिक्रिया 4