
काठमाडौं । भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापाको जीवनमा आधारित फिल्म ‘गोर्खा’को ट्रेलर सोमबार रिलिज भएको छ । फिल्मको अंग्रेजी नाम ‘बिनिथ द ब्रेभरी’ हो ।
भदौ २४ गते प्रदर्शन हुने फिल्ममा थापाले जर्मन सेनासँगको युद्धमा देखाएको पराक्रमलाई चित्रण गरिएको छ । प्रदीप शाही निर्देशित फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।
फिल्मको पटकथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । गौमाया अभिनित ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा साढे २२ करोडभन्दा बढी कमाइसकेको छ ।
नेपाल रिलिजअघि बेलायत, अमेरिका, ब्रुनाई, सिंगापुर र अस्ट्रेलियामा फिल्म रिलिज गर्ने तयारी छ ।
सन् १९१५ सेप्टेम्बर २५ मा ब्रिटिश सेनाले फ्रान्सको लुइसमा ठूलो आक्रमण गरेको थियो । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर उनी बाँच्न सफल भए ।
घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो ।
प्रतिक्रिया 4