१३ असार, काठमाडौं । त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले ज्याभलिन खेल्न थालेको ७ वर्ष भयो । यसबीचमा एउटा अन्तर्राष्ट्रिय (१३औं साग) र तीनवटा राष्ट्रिय प्रतियोगितामा मात्र उनले आफ्नो स्तर परीक्षणको अवसर पाएका छन् ।
सातवर्षको बीचमा चार वटा प्रतियोगिता खेल्न पाएका उनले आइतबार भएको ४४औं राष्ट्रिय प्रतियोगिता आयोजना भएपछि मात्रै आफू खेलाडी हुँ भन्ने सम्झिएको बताए ।
१३औं दक्षिण एशियाली खेलकुद साग खेलेका उनले ३ वर्षपछि प्रतिस्पर्धा गरेको प्रतियोगिता नेपाल एथलेटिक्स संघले गरेको ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हो ।
‘अरु खेलको प्रतियोगिता भइरहेको छ । फुटबल क्रिकेट नियमित भइरहेका छन् । ओलम्पिक भइरहेको छ भने हाम्रो खेल चाहिं किन नभएको हो बुझिनँ,’ रोहितले प्रश्न गरे, ‘खेल नभए पनि खेलाडीले एउटा लक्ष्य राखेर तयारी गरेको हुन्छ । त्यो लक्ष्य परीक्षण गर्न प्रयितोगिता हुँदैन भने खेलेको के अर्थ भयो र ?’
सुनसरी, रामधुनी–१ का २८ वर्षे रोहितले विद्यालयदेखि नै ज्याभलिन फाल्न थालेका हुन् । बाँसको ज्याभलिनबाट खेल्न थालेका उनी २०७१ सालमा नेपाली सेनामा भर्ती भए । आर्मीको आन्तरिक प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लबमा अवसर पाएका रोहितले २०७३ सालमा पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुदमा पहिलो सहभागितामै स्वर्ण जितेका थिए ।
‘डाक्टरले बिरामी जाँच्न पाएन भने आफू डाक्टर भएको बिर्सिन्छ, पाइलटले ३/४ वर्षसम्म जहाज उडाउन पाएन भने उसले आफू पाइलट हो भन्ने नै विर्सिन्छ । मलाई पनि त्यस्तै भएको थियो’, ३ वर्षपछि मैदान उत्रिएका उनले भने ।
खेलको राजा भनिने एथलेटिक्स जुनसुकै खेलको प्रारम्भिक चरण होे । एथलेटिक्सका दुई मुख्य विधा ट्र्याक र फिल्ड हुन् । एथलेटिक्स खेलको परम्परागत नाम ट्र्याक एण्ड फिल्ड नै हो । ट्रयाकतर्फ दौड पर्छ भने फिल्डतर्फ ‘जम्प’ र ‘थ्रो’ गरी मुख्य दुई विधा हुन्छन् । ट्रयाकतर्फ लामो तथा मध्यम दूरीका दौड प्रतियोििगता भइरहे पछि फिल्डतर्फका प्रतियोगिता आक्कलझुक्कल मात्र हुने गरेको छ ।
‘हाम्रो फिल्ड इभेन्टलाई सबैले हेपेजस्तो लाग्छ । संघले आयोजना गर्ने राष्ट्रिय च्याम्पियनसिप र राष्ट्रिय खेलकुदमात्र हो हामीले प्रदर्शन देखाउन पाउने,’ रोहित भन्छन्, ‘यस्तो हुँदा दुःखमात्र होइन डिप्रेसनमै गइन्छ । दुःख गरेर तयारी गरिरहेको हुन्छ, प्रतियोगिता हुँदैन । आफ्नो लगानीको प्रतिफल मिल्ने ठाउँ नपाउँदा खेलप्रति जाँगर हुँदैन । विभागबाहिर भएको भए उहिल्यै खेल छाडिसक्थेँ ।’

गत वर्ष जापानको टोकियोमा भएको ओलम्पिकमा भारतका निरज चोपडाले ज्याभलिनमा देशका लागि ऐतिहासिक स्वर्ण जिते । निरजले ८७ मिटर थ्रो गरेर स्वर्ण जित्दा रोहितले दशरथ रंगशालामा आइतबार निरजको भन्दा झण्डै २६ मिटर कम ६१.६० मिटर थ्रो गरेर राष्ट्रिय प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट प्रदर्शनसहित स्वर्ण जिते । भारतीय उपमहाद्वीपका प्रायः खेलाडी उस्तै शारीरिक बनोटका हुन्छन् । खेलाडीमा गरिने लगानी र प्राथमिकताले उसको सफलता निर्धारण हुने कुरा रोहितले पनि बुझेका छन् ।
‘पोहोर ओलम्पिकमा निरजले स्वर्ण जितेको हेरिरहँदा मेरो मन पनि हामी किन सक्दैनौं भन्ने सोच आएको थियो । तर, त्यहाँ र यहाँ आकाशजमिनको फरक छ । हामीले एउटा वास्तविक ज्याभलिनले अभ्यास गर्न पाएका छैनौं । नियमित अभ्यास भएका छैनौं, स्तरीय प्रशिक्षण पाएका छैनौं । विश्वस्तरको एउटा ज्याभलिनको साढे २ लाख रुपैयाँ पर्छ । त्यो हामीजस्ता खेलाडीको पहुँचभन्दा बाहिरको कुरा हो,’ रोहित भन्छन् ।
शटपुटतर्फ राष्ट्रिय कीर्तिमानधानी चन्द्रकला लामगादे नेपाल पुलिसकी खेलाडी हुन् । गर्भवती भएपछि खेल्न छाडेकी उनी १८ महिनाकी छोरीसहित झापामा बस्छिन् । नेपाल पुलिसको खेलकुद क्लबबाट बिदा मिलाएर झापामै नियमित ड्युटी गरिरहेकी चन्द्रकला राष्ट्रिय प्रतियोगिता हुने थाहा पाएपछि बिदा लिएर व्यक्तिगत रुपमा सहभागी हुन काठमाडौं आइन् ।
शटपुट र ज्याभलिनमा स्वर्ण जितेर उनले ४४औं राष्ट्रिय एथलेटिक्समा नेपाल पुलिसलाई स्वर्णविहीन हुनबाट जोगाइन् । विभागीय टोली पुलिस यस प्रतियोगितामा वागमती प्रदेशसँग पछि रहँदै टिमतर्फ चौथो भयो । छैटौं राष्ट्रिय खेलकुद–२०६८ यताकी नियमित राष्ट्रिय च्याम्पियन चन्द्रकला फिल्ड इभेन्टमा कसैको पनि आकर्षण नभएको गुनासो गर्छिन् ।

‘हाम्रो इभेन्ट अरु जस्तो भएन प्रतियोगिताहरू पनि हुँदैन । अलि धेरै प्रतियोगिता भइदिए राम्रो हुने थियो,’ उनी भन्छिन्, ‘प्रतियोगिता नियमित हुनुपर्छ, राम्रा खेलाडी छनोट गरी नियमित र स्तरीय प्रशिक्षण दिन सकियो भने फिल्ड इभेन्टका खेलाडीले पनि अन्तर्राष्ट्रिय रुपमा राम्रो प्रदर्शन गर्न सक्छन् ।’
तीन वर्षदेखि प्रशिक्षणसमेत नगरेकी १८ महिनाकी सुत्केरीले फलामको डल्लो फाल्ने प्रतिस्पर्धामा स्वर्ण जितेर शटपुट र ज्याभलिनमा महिलातर्फको प्रतिस्पर्धात्मक स्तर छर्लङ पारिन् । चन्द्रकला स्वयम पनि यो कुरा स्वीकार्छिन् ।
‘मैले खेल्न थालेको ११ वर्ष भयो । अहिलेसम्म मैले मेरो इभेन्टमा प्रतिस्पर्धा नै देखेको छैन । आफ्नै स्तरको प्रतिस्पर्धी आइदिएको भए मेरो पनि प्रदर्शनमा सुधार हुने थियो जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘सुत्केरी भएपछि झापामै ड्युटी गरेर बसेको थिएँ । जित्न सक्छुजस्तो लागेको थिएन । लामो समयसम्म टाढा हुँदा झन कठिन हुन्छ भनेर अनुभवका लागि मात्र आएकी थिएँ ।’
पहिलोपल्ट राष्ट्रिय प्रतियोगिता खेल्दा सहभागी पाँच विधामध्ये चार स्वर्ण र एक रजत जितेर सर्वोत्कृष्ट खेलाडी भएकी जयरानी थारुले पनि प्रतियोगिता कम हुँदा आफ्नो स्तर परीक्षण गर्न समस्या भएको बताइन् ।

२१ वर्षीया जयरानी २०७५ सालमा खेलाडी कोटामार्फत त्रिभुवन आर्मी क्लबमा अनुबन्ध भएकी थिइन् । त्यसयता पहिलोपल्ट प्रतियोगिता खेल्न पाएकी उनले पहिलो सहभागिताकै दुई राष्ट्रिय कीर्तिमान रचिन् । आफ्नो विधामा ठूलो सम्भावना बोकेको खेलाडीका रुपमा उनलाई चित्रित गर्न थालिएको छ ।
‘एथलेटिक्समा पनि हाम्रो विधाको त प्रतियोगिता नै हुँदैन । प्रशिक्षण भइराखेको हुन्छ तर प्रतियोगिता नहुँदा त्यसको महत्व नहुने रहेछ । यस्ता प्रतियोगिता कम्तिमा वर्षमा एकपल्ट भइदिएको भए खेलाडीको क्षमता र प्रतिस्पर्धात्मक स्तर बढ्छ जस्तो लाग्छ,’ जयरानीले भनेकी छन् ।
नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले ट्र्याक इभेन्टलाई प्राथमिकता दिँदा फिल्ड इभेन्टका प्रतियोगिता र खेलाडी उत्पादन कम भएको स्वीकार गरे । ‘एथलेटिक्स संघले राष्ट्रिय प्रतियोगितामा यी इभेन्टहरू छुटाएको छैन । तर, अन्य संस्था र निजी क्षेत्रले आयोजना गर्ने प्रतियोगिता ट्र्याक इभेन्टमा मात्र केन्द्रित हुने गरेको छ,’ उनी भन्छन्, ‘खेलाडी उत्पादनमा पनि हामीले सफलता पाउन सकिरहेका छैनौं । प्रशिक्षकहरु सफल खेलाडीलाई प्रशिक्षण गराएर बस्ने, खेलाडी उत्पादनमा ध्यान नदिने समस्या छ ।’
प्रशिक्षकहरू राष्ट्रिय खेलकुद परिषद (राखेप)को सट्टा सम्बन्धित खेल संघमातहत ल्याउनुपर्ने उनको माग छ । तर, नयाँ खेलकुद ऐनमै प्रशिक्षकहरू राखेपमातहत रहने व्यवस्था छ ।
आसन्न एसियाली खेलकुदका लागि राखेपले एथलेटिक्सटर्फ तीन पुरुष र २ महिला खेलाडी सहभागी रहने गरी पाँच इभेन्टमात्र समावेश गरेकोमा विष्टले आपत्ति जनाएका छन् । ‘३५÷४० वटा इभेन्ट रहने एथलेटिक्सबाट जम्मा पाँचवटा कोटा दिइएको छ । हामीलाई नियामक निकायले पनि हेपेको महशुस भएको छ,’ उनले थपे, ‘थोरै मात्र कोटा दिइएकाले प्रदर्शनका आधारमा सम्भावना भएका विधालाई समावेश गरिएको हो । सहभागिताको दायरा बढाइयो भने फिल्ड इभेन्ट पनि समावेश गर्नेछौं ।’
विश्वव्यापी रुपमै सामुहिक खेलको तुलनामा एकल खेलतर्फको आकर्षण कमजोर छ । खेलकुदलाई प्राथमिकतामा नराखेका देशमा त झन् यो समस्या डरलाग्दो रुपमा बढिरहेको छ । नेपालमा पनि एथलेटिक्स सरोकार निकायको प्राथमिकताबाट टाढा रहँदा खेलाडीले एउटै प्रतियोगिताका लागि वर्षौंको प्रतीक्षा गर्नुपर्ने बाध्यताको अन्त्य हुनु पर्ने खेलाडीको माग छ।
प्रतिक्रिया 4