
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ । मंगलबार काठमाडौंको कला परिषद् परिसरमा अन्तिम दिनको छायांकन गरियो ।
३३ दिनमै फिल्मको ‘इन्ड–क्ल्याप’ भएको निर्देशक खनालले जानकारी दिए । ‘मेरो सोचअनुसार नै फिल्म पूरा भएको छ,’ उनले भने, ‘कलाकारले राम्रो साथ दिएकाले पनि राम्रो नतिजा दिनेमा ढुक्क छु ।’
फिल्मको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकामै भएको हो । दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य अभिनय रहेको फिल्मले काठमाडौंमा घर नहुनेहरुको संघर्षपूर्ण जीवनशैलीलाई पेश गर्छ ।
सोसल ड्रामा फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् ।
यसै वर्षभित्र रिलिजको तयारी रहेको फिल्ममा रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा र प्रभाकर न्यौपानेको पनि अभिनय छ । दीर्घ गुरुङको छायांकन, शंकर थापाको संगीत रहेको फिल्मलाई दर्शकले रुचाउने विश्वास लिएको निर्देशक खनालले बताए ।
प्रतिक्रिया 4