
१४ असार, धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले कैलालीको पार्टी अध्यक्षबाट हटाइएका रतनबहादुर थापालाई अझै रुपान्तरण हुने अवसर भएको बताएका छन् ।
थापालाई मंगलबार प्रदेश कमिटीले गरेको कारवाहीबारे सञ्चारकर्मीलाई धनगढीमा संक्षिप्त प्रतिक्रिया दिदै भट्टले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेकाले जिल्लाको सिफारिसका आधारमा पदबाट हटाइएको बताए ।
जिल्ला कमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेपनि व्यक्तिलाई रुपान्तरण हुने अवसर दिनुपर्ने भन्दै प्रदेश कमिटीले अध्यक्ष पदबाट मात्र हटाएको भट्टले प्रतिक्रिया दिए ।
‘पार्टीले त्यो तहको नेता उत्पादन गर्न निकै खर्च गरेको हुन्छ । सकेसम्म पार्टीको विधि के हुनुपर्छ भन्दा व्यक्तिबाट कमी कमजोरी हुन्छ त्यो कमजोरीलाई सच्याउने अवसर दिनुपर्छ र उसलाई रुपान्तरण हुने अवसर दिनुपर्छ,’ भट्टले भने ।
उनले थापालाई गरिएको कारवाहीले पार्टीलाई क्षति नभएर थप बलियो बनाउने धारणा राखे । पार्टी सिद्धान्त नमान्ने, अराजकता देखाउने प्रवृत्तिका व्यक्तिले थापाको कारवाहीलाई सिकाइको रुपमा लिनुपर्ने तर्क उनको थियो ।
स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको, नेतृत्व विरुद्ध जथाभावी बोलेको, निर्वाचनमा पार्टीको नेतृत्व नगरेको आरोप लगाउँदै जिल्ला कमिटिले थापालाई कारवाहीका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा उनलाई प्रदेश कमिटीले कारवाही गरेको छ ।
मंगलबार नै आयोजित मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले मदन भण्डारीले आत्मसाथ गरेको जबजको सिद्धान्त अहिलेको युग सुहाउँदो भएकाले सबैले मान्नुपर्ने बताए ।
प्रतिक्रिया 4