
१४ असार, काठमाडौं । इंग्ल्याण्डको सिमित ओभरको क्रिकेट टिमका कप्तान तथा विश्वकप विजेता कप्तान इयान मोर्गनले क्रिकेटबाट सन्यास लिएका छन् ।
३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ‘यो सजिलो निर्णय होइन,’ उनले भने, ‘तर मलाई विश्वास छ यो सही समय हो ।’ पछिल्लो समयमा उनको प्रदर्शनमा स्थिरता थिएन भने फिटनेस समेत पहिला जस्तो थिएन । उनले सेतो बलमा खेलका पछिल्ला २६ खेलमा मात्र एउटा अर्धशतक बनाएका थिए ।
इंग्ल्याण्डले आउँदो हप्ता भारतमा ३ खेलको टी-२० शृंखला खेल्ने छ । यस्तै अक्टुबरमा अष्ट्रेलियामा टी-२० विश्वकप पनि हुने छ । महत्वूर्ण प्रतियोगिता अगावै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले शरीरले साथ दिंदासम्म घरेलु क्रिकेट खेल्ने बताएका छन् ।
मोर्गनको कप्तानीमा इंग्ल्याण्डले सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । उनकै नेतृत्वमा इग्ल्याण्ड एक दिवसीय र टी-२० वरीयतामा शीर्ष स्थानमा पुगेको थियो ।
मोर्गनको सन्यासपछि अब उनको स्थान हालका उपकप्तान जोस बटलरले पाउने सम्भावता रहेको बेलायती मिडियाले जनाएका छन् । बटलरले मोर्गनको अनुपस्थितिमा केही खेलमा कप्तानी गरिसकेका छन् ।
मोर्गनले इंग्ल्याण्डका लागि एकदिवसीय र टी-२० मा सर्वाधिक खेल खेल्ने र रन बनाउने खेलाडी हुन् । उनले इंग्ल्यान्डका लागि २२५ एकदिवसीयमा ६ हजार ९५७ र ११५ टी-२० मा २ हजार ४५८ रन बनाएका छन् ।
प्रतिक्रिया 4