
१६ असार, जनकपुरधाम । खरीद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने सप्तरीको राजविराज र सिरहाको लहानका ११ पसललाई जरिवाना गरिएको छ । राजविराजका ७ र लहानका ४ पसललाई जरिवाना गरिएको हो ।
वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा पसलमा अनुगमन गरेको छ । त्यस क्रममा खरीद बिल नदेखाउने, अनुगमन कार्यमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्बेले जानकारी दिए ।
उनका अनुसार मूल्य सूची नराख्ने राजविराजस्थित दास हार्डवेयरलाई रु ५० हजार जरिवाना गरिएको छ । खरीद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर, नदिना फ्रुट एण्ड जनरल स्टोरलाई रु २० हजारका दरले र गौरब ट्रेडर्स एण्ड सप्लायर्सलाई रु १० हजार, सिता ट्रेडर्स र लेडी कलेक्सनलाई रु ५ हजारका दरले जरिवाना तोकिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी खत्बेले जानकारी दिए । उनका अनुसार अनुगमन कार्यमा असहयोग गर्ने बालाजी खाद्यान्न खरीद बिक्री केन्द्र र न्यु पूजा बस्त्रालयलाई २० हजार रुपैयाँकोे दरले जरिवाना गरिएको छ ।
लहानका ४ पसललाई जरिवाना
लहानका व्यवसायीले पनि खरीद बिल नराख्ने गरेको पाइएको छ । खरीद बिल नराख्ने नितिश ट्रेडर्स एण्ड सप्लायर्सलाई रु २० हजार, खान बुट हाउस र सलमान बुट हाउसलाई रु १० हजारका दरले जरिवाना तोकिएको छ ।
यस्तै, इजाजत पत्र नलिई कारोबार गर्ने श्रीजी डिमार्टमेन्ट स्टोरलाई रु ५० हजार जरिवाना तोकिएको छ ।
सूचना अधिकारी खत्बेले तोकिएको जरिवाना वापतको रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरी भौचर पेश गर्न निर्देशन दिइएको बताए ।
उनका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेकाले सोही ऐनको दफा ३९ बमोजिम ती पसललाई जरिवाना तोकिएको हो ।
प्रतिक्रिया 4