
१६ असार, काठमाडौं । यती एयरलाइन्सबाट यात्रा गर्ने यात्रुले टिकट अब भाइबरबाट पनि किन्न सक्ने भएका छन् । भाइबरमा ‘५–वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने कम्पनीले जनाएको छ ।
भाइबर नेपालसँगको सहकार्यमा सहज तरिकाले टिकट उपलब्ध गराउने उद्देश्यले ‘भर्चुअल सेल्स काउन्टर’ को व्यवस्था गरी बिहीबारबाटै यस्तो सेवा प्रारम्भ गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
भर्चुअल काउन्टर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म १२ घण्टा खुल्ला रहने भएको छ । यस समयभित्र यात्रुले ‘५–वटा–१०’ भाइबर नम्बरमा म्यासेज पठाई आफूलाई आवश्यक परेको टिकटका लागि अनुरोध गर्न सक्ने भएका छन् । टिकटको भुक्तानी क्यूआर कोडमार्फत् गरी टिकट लिन सकिने भएको उनले बताए ।
यात्रुहरुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । हाल यती एयरलाइन्सको टिकट मोबाइल एप, वेबसाइट, सेल्स काउन्टर, ट्राभल एजेन्सी, ई–सेवा र खल्ती मार्फत् उपलब्ध छ, अब भने यात्रुहरुले भाइबरमार्फत् पनि टिकट लिन सक्नेछन् ।
प्रतिक्रिया 4