
१६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच हातेमालो गर्नुपर्ने बताएका छन् । आगामी मौद्रिक नीतिबारे बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले सरकारलाई दिएको सुझाब बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सीबीफीनले प्रस्तुत गरेका सुझाव र प्रतिवेदनहरुले औल्याएका कृषि क्षेत्रको सुधार, व्यापार घाटा न्यूनिकरण तथा आयात प्रतिस्थापनका उपायहरु र निर्यातजन्य वस्तुहरु, लगानीका लागि पूँजी निर्माण जस्ता विषय सरकारको प्राथमिकतामा परेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।
वर्तमान अवस्थामा देखिएका चुनौतीहरुको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै देउवाले सुझावका लागि धन्यवाद व्यक्त गरेका थिए ।
भेटमा सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमहरुको बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया 4