
१७ असार, विराटनगर । स्कुल बसको ठक्करबाट घाइते भएकी बालिकाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।
मोरङको रङ्गेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको बसले मंगलबार ठक्कर दिदा चार वर्षीय बालकको घटनास्थलमा नै मृत्यु भएको थियो । ६ वर्षीय बालिका गम्भीर घाइते भएकी थिइन् ।
घाइते रङ्गेली–६ की ६ वर्षीया सुनमकुमारी मण्डलको शुक्रबार न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनी सोही बोर्डिङको एलकेजीमा अध्ययनरत थिइन् ।
को १ क ११३० नम्बरको बसले मङ्गबार दिउँसो दुई बच्चालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट नर्सरीमा अध्ययनरत रङ्गेली–७ का ४ वर्षीय रीतिक मण्डलको सोही दिन मृत्यु भएको थियो ।
स्कुल छुट्टि भएपछि पैदल घरतिर जाँदै गरेका सुनमकुमारी र रीतिकलाई स्कुलको गेटछेउमै बसले ठक्कर दिएको थियो ।
अन्य विद्यार्थीलाई घर पुर्याउनका लागि निस्किएको बसले दुई बच्चालाई ठक्कर दिएको विरोधमा स्थानीयले स्कुलको अर्को बसमा तोडफोड गरेका थिए ।
प्रतिक्रिया 4