
काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब सञ्चालनमा ल्याएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कलेजका विद्यार्थीहरूको अनुसन्धान र विकासलाई सहज बनाउने उदेश्यको साथ नयाँ ‘इन्टरनेट अफ थिंग्स (आईओटी)’ ल्याब सञ्चालनमा ल्याएको हो ।
उक्त ल्याबको उद्घाटन कलेजका सीईओ तथा संस्थापक राजन कँडेलले गरेका हुन् । इन्टरनेट अफ थिंग्स महत्वको हिसावले उदीयमान विषय भएको भन्दै उनले विद्यार्थीलाई थप अवसर प्राप्त गर्न सहयोगी हुने विश्वास व्यक्त गरे। ‘इन्टरनेट अफ थिंग्स’ले पाठ्यक्रमलाई समेत सहयोग पुर्याउने भन्दै उनले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक रूपमा उभ्याउन सघाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कलेजका एसोसिएट डीन अरुण जोशीले यो नयाँ सुविधाले बीएससी (हन्स) कम्प्युटिङ र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिक्सका विद्यार्थीहरूले नयाँ र रोमाञ्चक विकासहरूमा पहुँच पुर्याउन सक्षम हुने बताए । डिजिटालाइजेसनको क्षेत्रमा यसले सम्भावित रूपमा आईओटीको अवधारणा र अनुप्रयोगहरू सिकाउने र सिक्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने उनको भनाइ थियो ।
आवश्यक स्रोत साधनले पूर्ण ल्याबबाट विद्यार्थीहरूलाई छोटो अवधिका कोर्षहरु पूरा गराउन सघाउने कलेजले बताएको छ ।
कार्यक्रममा पाँच जना विद्यार्थीहरुसँगै विषयसँग सम्बन्धित शिक्षकहरुले स्मार्ट सोलार, फेस डिटेक्शन र स्मार्ट होम अटोमेसनलगायत आईओटीसँग सम्बन्धित विभिन्न विषयमा प्रस्तुति दिएका थिए । यसका साथै आईओटीसँग सम्बन्धित पाठ्यक्रमहरू १५ जुलाईदेखि आधिकारिक रूपमा सुरु हुने कलेजले जानकारी दिएको छ।
प्रतिक्रिया 4