
१९ असार, काठमाडौं । महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीमाथि थप कारवाही हुने भएको छ । नगरप्रहरीको कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीलाई थप कारवाही गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।
मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको छ । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएपछि महानगरपालिकाले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको हो ।
महानगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकले थप कारवाही गर्न प्रक्रिया सुरु भएको छ । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पतीले पनि स्वीकारेका छन् ।
‘सरकारी कर्मचारीलाई दोबाटोमा हातपात भएको छ, कारबाही नगरेर नमस्कार गर्नु त ?,’ नगर प्रहरी प्रमुख सापकोटाले प्रश्न गरे, ‘आवश्यक कारवाही हुन्छ । प्रक्रिया सुरु भइसकेको छ । कारबाही के हुन्छ भन्ने विषयमा भएपछि मात्रै भनौंला ।’
नगर प्रहरी प्रमुख सापकोटाले कारबाही के गर्ने भने नखुलाए पनि यत्तिकै छोड्न नमिल्ने तर्क गरे । जनपथ प्रहरीमार्फत उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा चलाउने महानगर प्रहरीको संकेत छ ।
फुटपाथमा बेच्नेहरुमाथि दैनिक कारबाही गरिरहेको भन्दै सपकोटाले यस्तो कारबाही निरन्तर भइरहने पनि बताएका छन् । ‘सधैं कारबाही हुन्छ, आज पनि हुन्छ, भोलि पनि हुन्छ । नयाँ कुरा होइन’ उनले भने,’हाम्रो नियमित काम हो, यो ठूलो कुरा होइन ।’
नगर प्रहरीको काम नै फुटपाथ, सडक व्यवस्थापन गर्ने भएकोले अन्य टिप्पणी गर्न आवश्यक नरहेको बताए ।
नगर प्रहरीका सब इन्स्पेक्टर (सई) राजन श्रेष्ठमाथि दम्पतीले ५ हजार रुपैयाँ घुस मागेको भनेर लगाएको आरोपबारे महानगरपालिका भने मौन छ । ‘अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारी आफैं छु । सोधपुछपछि स्पष्टिकरण लिएर अनुसन्धानपछि महानगरले आवश्यक परे मात्रै कारबाही गर्छ, मैले अनुसन्धान गरेर महानगरको नेतृत्वलाई बुझाउने हो, बाँकी उहाँहरुले गर्नुहुन्छ,’ सापकोटाले भने ।
काठमाडौं महानगरले फुटपाथमा सामग्री बेच्न प्रतिबन्ध लगाएको भन्दै सड कपेटीको ठेला, फुटपाथका सामग्री बेच्न नदिने, बेचेमा थप कारबाही गर्न पछि नपर्ने उनले बताए ।
प्रतिक्रिया 4