
१९ असार, लमही । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफूलाई सांसदमा जिताएर मन्त्री बनाउने मतदाताहरूको शिर झुक्ने गरी कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री बनेलगत्तै गृह जिल्ला दाङ पुगेका उनले मन्त्री पदमा रहुन्जेल स्मरणयोग्य काम गर्ने बताए ।
दाङको क्षेत्र नं. १ मा आयोजित स्वागत, बधाई लगायतका विभिन्न कार्यक्रमहरूमा चौधरीले भने, ‘दाङ क्षेत्र नं. १ का मतदाताहरूको शिर निहुरिने गरेर कुनै पनि काम गर्नेछैन । जति समय मन्त्री हुन्छु राम्रो काम गरेर देशभरिका जनताको मन जित्ने प्रयास गर्नेछु ।’
मन्त्री भनेको पद क्षणिक र अस्थायी पद रहेको बताएका चौधरीले आउँदै गरेको निर्वाचनमा आफूलाई विजयी बनाउन आग्रह पनि गरे ।
भालुबाङको पुल्चोकमा राप्ती उद्योग वणिज्य संघले आयोजना गरेको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री चौधरीले लुम्बिनी प्रदेशको राजधानीको विकासका लागि सबै सहयोग गर्ने बताए । उनले अबका बैठकहरू लुम्बिनीको राजधानी राप्ती गाउँपालिकामा नै बस्ने उनले बताए ।
गढवा उद्योग वाणिज्य संघको हलमा नेकपा (एकीकृत समाजवादी)ले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा मन्त्री चौधरीले खरको छानालाई जस्ता पाताले विस्थापित गर्ने आफ्नो अभियानलाई केही व्यक्तिले आलोचना गरेर असफल बनाउने प्रयास गरेको भन्दै चिन्ता व्यक्त गरे । बगरापुरमा आयोजित कार्यक्रममा बगरापुरमा थारु संग्राहलय बनाउने र गाउँको विकासमा सहयोग गर्ने वचन दिए ।
मन्त्री चौधरी बिहीबार, शुक्रबार, शनिबार र आइतबार गरी चार दिन आफ्नो गृहजिल्लामा रहेर भेटघाट गर्नुका साथै मतदाताहरूलाई धन्यवाद दिएका छन् । मन्त्री चौधरी आइतबार काठमाडौं फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया 4