
१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका छन् ।
आजबाट सुरु केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उनीहरुले पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका हुन् । बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनु पर्ने बताए ।
उनले भने, ‘यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याउनु पर्छ । बरु पाँच दिनसम्म बैठक बसौं । यो भद्रगोल अवस्था नराखौं ।’
बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको नौ बुँदे एजेण्डामा संगठनात्मक विषय पनि छ । तर पार्टी पदाधिकारी यो बैठकबाट टुंगो लाग्ने सम्भावना कम रहेको माओवादी केन्द्रका एक नेताले बताए ।महासचिवबारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यही बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको ती नेताको दाबी छ । शनिबार साँझ बसेको पूर्वस्थायी कमिटीका पूर्वपदाधिकारीको बैठकमा पनि यसबारेमा कुनै सहमति भएको थिएन ।
केन्द्रीय समिति बैठकमा पौडेलभन्दा अगाडि रिपोर्टिङ गरेका मधेश प्रदेशका इन्चार्ज गणेश शाहले मधेश प्रदेशको पदाधिकारी छिटो टुंगो लगाउनुपर्ने बताए । पार्टीले मधेसका एजेन्डाबारे छलफल गर्दै नगरेको भन्दै उनले नेतृत्व विहीनताको अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे ।
चुनावको अन्तरघात छानविन गर्न माग
बैठकमा रिपोर्टिङ गर्नेहरुले स्थानीय तह निर्वाचनमा धाँदली भएको भन्दै छानविन गर्न पनि माग गरेका छन् ।
मधेश प्रदेशका इन्चार्ज साहले छानविनका लागि उच्चस्तरीय समिति बनाउन र अन्तरघात गर्नेहरुलाई कारबाही गर्न माग गरे । उनले भने, ‘चुनावमा धाँदली भएको विषयमा छानबिन गरियोस् । त्यसका लागि उच्चस्तरीय छानबिन होस् र सिफारिस अनुसार कारबाही पनि होस् ।’
सिन्धुपाल्चोक घर भएका बागमती प्रदेश अध्यक्ष पौडेलले पनि चुनावमा व्यापक अन्तरघात भएको बताए । उनले भने, ‘गठबन्धनामा हामीले इमान्दारीतापूर्वक मत हाल्यौं तर अरुमा त्यो इमानदारीता रहेन ।’ उनले पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा भद्रगोल भएको भन्दै त्यसलाई समाधान गर्ने नैतिक अधिकार नेताहरुले गुमाइसकेको टिप्पणी गरे ।’
बैठकमा मधेश प्रदेशको हकमा इन्चार्जले र अन्य प्रदेशको अध्यक्षले रिपोर्टिङ गर्ने बैठकको कार्यसूची छ । प्रदेशको रिपोर्टिङका लागि १० मिनेटको समय दिइएको छ ।
प्रतिक्रिया 4