
काठमाडौं । शुक्रबारदेखि सिक्किमबाहेक भारतभर रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले उत्साहजनक ओपनिङ गरेको छ ।
शुक्रबार र शनिबार फिल्मले १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेरु) ओपनिङ गरेको हो । फिल्मको भारत वितरक सुष्मा प्रोडक्सनका अनुसार पीभीआरका १७६ हलसहित हन्य मल्टिप्लेक्सबाट समेत फिल्म रिलिज भएको थियो ।
पहिलोपटक त्यहाँको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पीभीआरले नेपाली फिल्मलाई प्रदर्शनमा ल्याएको हो । पीभीआरले मुम्बई र दिल्लीसहित अन्य मुख्य सहरमा समेत ‘कबड्डी ४’ रिलिज गरेको छ । नेपालीभाषीको बसोबास भएका मुख्य सहरमा समेत ओपनिङ राम्रो देखिएको छ ।
‘फिल्मको भारत ओपनिङले नेपाली फिल्मलाई नयाँ बाटो देखाएको छ,’ निर्माता मणिराम पोखरेलले अनलाइनखबरसँग भने, ‘यो मुलुककै लागि खुसीको कुरा हो ।’
सिक्किम सरकारले भने ‘कबड्डी ४’को प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । तर चाँडै त्यहाँ पनि प्रदर्शन हुने आशा निर्माता पोखरेलले व्यक्त गरे । ‘कबड्डी ४’को सबैभन्दा धेरै लाइफटाइम कलेक्सन उत्तर अमेरिकामा हुने अपेक्षा छ ।
त्यहाँ ४ करोड रुपैयाँ बराबरको ग्रस कलेक्सन हुने अपेक्षा छ । निर्माताले २ करोड निश्चित मूल्यमा विदेशमा राइट बिक्री गरे पनि फिल्मको विदेश प्रदर्शनबाट १० करोड रुपैयाँभन्दा बढी कमाइ हुने प्रक्षेपण छ ।
अझै पनि अस्ट्रेलिया र अमेरिकामा ‘कबड्डी ४’ले हल होल्ड गर्दा अन्य नेपाली फिल्म प्रदर्शन हुन पाएका छैनन् ।
प्रतिक्रिया 4