
२० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले गत बिहीबार र शुक्रबार गरेको भेलाले पार्टीभित्र अपहेलित भएको ठहर गरी ‘रचनात्मक विद्रोह’को निर्णय गर्यो ।
दुई दिने भेला गरेर आफू पक्षका नेता कार्यकर्ताको कुरा सुनेका नेता शेखर कोइराला, महामन्त्री गगन थापा पनि अब भने सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने निष्कर्षमा पुगेका छन् ।
उनीहरुले सभापति देउवाले विधान अनुसार गर्नुपर्ने काम नगरेको, भ्रातृ संस्थाको पदाधिकारी मनोनित नगरेको, पार्टीका केन्द्रीय सदस्य मनोनित नगरेको जस्ता विषय उठाएका छन् ।
‘शेखर पक्ष कमजोर भयो । गगन (थापा) ले यो समूहलाई साथ दिएका छैनन् भन्ने आशंका हटेको छ’ शेखर पक्षका एक नेताले भने, ‘६ महिना देउवाको काम हेर्नका लागि हामीले समय दिएको हो । अब गलत निर्णयको कडा रुपमा विरोध हुन्छ ।’
आगामी रणनीति
२७ असारमा बोलाइएको केन्द्रीय समिति बैठकलाई विरोधका आवाज राख्ने मुख्य थलो बनाउने शेखर पक्षको तयारी छ । आफ्नो समूहको रणनीति बनाउन २६ असारमा शेखर पक्षले पदाधिकारी र केन्द्रीय सदस्यको भेला बोलाएको छ ।
सभापति देउवाको विगत ६ महिनाको काम हेर्दा आफूसँग सभापतिमा पराजित भएका नेता शेखरलाई ‘वाइपास’ गर्दै आएका थिए । देउवा एक्लै हिँड्न खोजेको आफू पक्षीय नेताहरुको भेलामा शेखरले बताएका थिए । ‘छलफलका लागि शेखर दाइले गरेको आग्रह देउवाले टेर्दै नटेर्ने रहेछन् । सभापतिले गरेका निर्णय उहाँलाई चित्त बुझ्दैन । भेटेर कुरा गर्न समय पनि नदिने रहेछन्’ शेखर पक्षका एक नेता भन्छन् ।
समयमा महाधिवेशन गर्न नसकी भंग गरिएका १० भ्रातृ संस्थामध्ये ६ वटाले मूल नेतृत्व समेत पाएका छैनन् । नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघलाई केन्द्रीय समितिहरु फागुन ३ मा भंग गरेको थियो ।
नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्धान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघमा ओमबहादुर थापालाई सभापतिले मनोनित गरेका छन् ।
भ्रातृ संस्थाको नेतृत्वमा चयन भएका चार जना नै सभापति देउवा पक्षका हुन् । भ्रातृ संस्था नेतृत्व एकतर्फी गरिएको विरोधमा केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गर्ने आन्तरिक तयारी यो समूहले गरेको छ ।
‘देउवाले दबाव नदिएर सुन्दै सुन्दैनन् । सडकमै विरोधमा उत्रनुपर्छ । पहिले पहिले पनि सजिलै रामचन्द्र (पौडेल) दाइलाई भाग दिएका होइनन्’ भ्रातृ संस्थाका एक पूर्व नेताले भने ।
विगतमा पौडेलको अस्तित्व स्वीकारेका देउवाले अहिले शेखरलाई महत्व नै नदिएको उक्त समूहका नेताहरुको बुझाइ छ । सभापति देउवाले बेवास्ता गर्दै अघि बढे समानान्तर कार्यसमिति गठन गर्ने शेखर समूहका नेताहरु बताउँछन् ।
देउवाले शेखर पक्षलाई अपमान गर्ने र यथोचित न्याय नदिएको विश्लेषण गरेका नेविसंघ पूर्वनेता मनोजमणि आचार्य र तरुण दलका पूर्व महासचिव भूपेन्द्रजंग शाहीले भेलामा समानान्तर समितिको अभ्यास गर्नुपर्ने विचार राखेका थिए ।
‘अहिले हाम्रो पक्षबाट भ्रातृ संस्थाका गतिविधि मात्रै गर्ने हो । हामीलाई अपमान गर्दै जाने देउवाको कदम भयो भने समानान्तर कार्यसमिति बन्छ’ शेखर पक्षका नेता भन्छन् ।
विधान अनुसार सभापति देउवाले निर्वाचित भएको ६ महिनाभित्र २८ केन्द्रीय विभाग गठन गर्नुपर्ने थियो । तर देउवाले अहिलेसम्म गठन गरेका छैनन् । विभाग गठन गर्दा न्यायोचित स्थान नदिए ‘छाया विभाग’ गठन गर्ने शेखर समूहका नेताहरु बताउँछन् ।
४० प्रतिशत भाग खोज्ने
गत महाधिवेशनमा सभापतिमा विजयी हुँदा देउवाले २ हजार ७२४ मत पाएका थिए । कुल खसेको ४ हजार ५६४ मा पराजित शेखरले १ हजार ८१७ मत प्राप्त गरेका थिए । ४० प्रतिशत कटाएका शेखर पक्षले त्यसै मतको आधारमा हिस्सेदारी खोज्ने भएको छ ।
भागवण्डाको खेलमा नलाग्ने अभिव्यक्ति दिँदै आएका शेखर अब हिस्सेदारी खोज्ने अवस्थामा पुगेका छन् । आफ्नो समूहको भेलाको पहिलो दिन शेखर भागवण्डाको पक्षमा थिएनन् ।
सहभागीहरुले आफ्नो क्षमता अनुसारको हिस्सेदारी खोज्नैपर्ने आवाज उठाएपछि शेखर ‘कन्भिन्स’ भएका नेताहरुले बताएका छन् । पार्टीमा गठन हुने संस्था तथा विभागमा ४० प्रतिशतको हिस्सेदारीलाई शेखर पक्षले शर्त बनाउने भएको छ ।
‘भ्रातृ संस्थामा हामीलाई ४० प्रतिशतको माग गर्छौं । भंग भएका १० मध्ये ४ को नेतृत्व माग गर्ने मोटामोटी सहमति भएको छ’, उक्त पक्षका एक नेता भन्छन् ।
पार्टीको १६८ सदस्यीय केन्द्रीय समितिमा हालसम्म मनोनित समेत गरेर १४८ जना छन् । केन्द्रीय समितिको पूर्णताका लागि देउवाले थप २० जना मनोनित गर्नुपर्ने हुन्छ ।
विधान अनुसार ४६ सदस्यीय कार्य सम्पादन समिति हुनुपर्नेमा देउवाले ३७ सदस्यीय गठन गरेका छन् । केन्द्रीय समितिमा आफू पक्षीयलाई मनोनित गर्दा देउवाले शेखर पक्षबाट उपसभापतिमा प्रतिस्पर्धा गरेका चन्द्र भण्डारी र महामन्त्रीको प्रतिस्पर्धी डा. मिनेन्द्र रिजाललाई मनोनित गरेका छैनन् ।
सभापति देउवाले गठबन्धनको बलमा आफूहरुलाई बेवास्ता गरेको निष्कर्षमा पुगेको शेखर पक्षले त्यसको काउन्टरमा गठबन्धन नमान्ने चेतावनी दिएको छ । तालमेलमा उम्मेदवार बनेका अरु दलका उम्मेदवारलाई ‘हराइदिने’ रणनीति बनेको उक्त समूहका एक नेताले बताए ।
‘देउवाले पेलरै गए भने जहाँ जहाँ गठबन्धनमा अरु दलका उम्मेदवार छन् । ती ठाउँमा गठबन्धनका उम्मेदवारलाई हराउन लाग्छौं’ आफ्नो समूहको रणनीतिबारे शेखर पक्षका नेता भन्छन् ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पक्षबाट थोरै मात्र उम्मेदवार हुन सक्ने यो पक्षको आकलन छ । तर पदाधिकारीहरुले टिकटका लागि हरसम्भव प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।
‘गठबन्धनले १६५ सिट भागवण्डा गर्नुपर्छ । कांग्रेसले पाउने स्थानमा देउवाले आफ्नै उम्मेदवार बनाउँछन् । हामीलाई टिकट पक्कै दिँदैनन्’, उनले प्रश्न गरे, ‘हामीले टिकट पाउने ठाउँमा गठबन्धनका उम्मेदवारलाई हामीले मत नदिने अभियान नै चलाउँछौं ।’
शेखर जिल्ला–जिल्लामा जाने
पछिल्लो समय शेखरले भेटघाटलाई पनि तिब्रता दिएका छन् । आफ्नो पक्षलाई थप बलियो बनाउने अभिप्रायले कांग्रेसमा आस्थावान अवकाश प्राप्त व्यक्तिहरुसँग पनि उनले संवाद अघि बढाउने भएका छन् । त्यसको सुरुवात आइतबार केही पुराना नेताहरुलाई भेटेर गरिसकेका छन् ।
केन्द्रीय समितिको बैठकलगत्तै जिल्ला भ्रमणलाई शेखरले प्राथमिकतामा राख्ने उनी पक्षीय नेताले जानकारी दिए । ‘केन्द्रीय समितिको बैठकपछि जिल्ला जिल्लामा कार्यक्रम गरिन्छ । कुन नेतालाई कहाँ खटाउने निर्णय केही दिनमा गर्छौं’ शेखर पक्षका नेता डा. गोविन्द पोखरेलले भने ।
१४ औं महाधिवेशन अघि एउटै समूहमा रहेर हाल संवाद हुन छोडेका नेताहरुलाई एकत्रित गर्ने रणनीति यस समूहले बनाएको छ । १४ औं महाधिवेशनमा नेताद्व रामचन्द्र पौडेल र शशांक कोइरालाले शेखरलाई साथ दिएका थिएनन् । तत्कालीन समयमा दुई नेताले सहयोग नगरेपनि दुरी बढाउने पक्षमा शेखर समूह देखिएको छैन ।
देउवा विरुद्ध थप शक्ति बढाउन पौडेल र शशांकलाई पनि यसै समूहमा समेट्न प्रयास गरिने उक्त समूहका नेताहरु बताउँछन् । ‘संस्थापनइतरमा रहेका पूर्व नेताहरुसँग पनि छलफल गर्छौं । सम्बन्ध बिगार्न हुँदैन भनी छलफल भएको छ । सभापतिलाई विधान अनुसार हिंडाउन सबैको बल चाहिन्छ’ शेखर पक्षका नेता भन्छन् ।
देउवा विरुद्ध आक्रामक नीति लिनकै लागि यस समूहको विशालनगरस्थित सम्पर्क कार्यालयमा बैठकहरु बाक्लो हुन लागेको छ ।
असुरक्षित हुने डर
शेखर पक्षले आफ्नो समूहलाई परिवर्तनकारी पक्षधरको संज्ञा दिँदै आएको छ । तर यो पक्षका नेता कार्यकर्ताले पार्टीमा आफूहरु सुरक्षित नहुने हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन् ।
पार्टीभित्र कुनै समूहमा लाग्दै गर्दा कार्यकर्ताले संरक्षणको साथमा अवसर पनि खोजेका हुन्छन् । उक्त समूहको संरक्षणकर्ता शेखर छन् । उनकै छत्रछायाँमा रहेर संरक्षण प्राप्त नहुने हो कि भन्ने चिन्ता बैठकमा केही नेताले चिन्ता व्यक्त गरेका थिए ।
रामचन्द्र पौडेल र शशांक कोइराला निकटका कार्यकर्ताहरु १४ औं महाधिवेशन पश्चात अधिकांश शेखर पक्षमा लागेका छन् । उनीहरुबाट प्राप्त हुँदै आएको संरक्षण नहुने तथा पार्टीमा कहिं भूमिका पनि नपाउने हो कि भन्ने आशंका सहितको जिज्ञासा बैठकमा उठेको सहभागी एक नेताले बताए । नेता शेखरले आफ्नो पक्षमा लागेका नेता कार्यकर्ताको संरक्षण हुने प्रतिवद्धतता व्यक्त गरेका थिए ।
‘सभापतिले अहिलेसम्म हाम्रो शक्तिलाई स्वीकारेका छैनन् । यस्तो अवस्थामा तपाईं प्रतिवाद गर्न सक्नुहुन्न’ शेखरप्रति उठेका प्रश्नबारे एक नेताले भने, ‘रामचन्द्र पौडेललाई देउवाले एउटा शक्ति मान्न त तयार थिए । भाग खोज्दिन भन्दै बसेको भए उहाँ (रामचन्द्र) सँग को बस्थे ?’
पार्टी र सरकारको कामकारबाही प्रति यथेष्ट भूमिका खेल्न पदाधिकारीहरुले नसकेको आवाज पनि भेलामा उठेको थियो । समूहका नेता शेखरले भन्दा बढी समय लिएर बोलेका महामन्त्री गगन थापाले आशंकालाई चिर्ने प्रयास गरेका थिए । पार्टीभित्र काम गर्न सभापतिका कारण जटिल भएको उल्लेख गरेका उनले अझै सक्रियता बढाउने प्रतिवद्धता जनाएका थिए ।
प्रतिक्रिया 4