+

फुटबल छाडेर अष्ट्रेलियातिर

२०७९ असार  २० गते २०:३१ २०७९ असार २० गते २०:३१

पहिलो अन्तर्राष्ट्रिय गोल गरेको तीन सातामै दर्शन गुरुङ सुरक्षित भविश्यको खोजीमा विदेशिए, त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङले पनि फुटबल करिअरलाई विट मारे । उनीहरु दुवै अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

फुटबल छाडेर अष्ट्रेलियातिर

२० असार, काठमाडौं । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जेठ २८ गते नेपालले घरेलु टोलीविरुद्ध गोल गर्दा दर्शन गुरुङ र सन्तोष तामाङको तालमेल गज्जवको थियो । दुबै सब्स्टिच्युडका रुपमा मैदान छिरेका थिए ।

त्यै गोलका कारण दर्शन ४० वर्षपछि कुवेतविरुद्ध गोल गर्ने नेपाली खेलाडीका रुपमा चिनिए । वाईबी घलेले सन् १९८२ को एसियाली खेलकुदमा नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल गरेयता नेपाल कुवेतविरुद्ध गोलविहीन थियो ।

पहिलो अन्तर्राष्ट्रिय गोल गरेको तीन सातामै दर्शन सुरक्षित भविश्यको खोजीमा विदेशिए, त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङले पनि फुटबल करिअरलाई विट मारे । उनीहरु दुवै आइतबार साँझ अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

इलामका दर्शन एन्फा एकेडेमीका उत्पादन हुन् । यू–१२ यता सबै उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका उनले पछिल्लो पटक राष्ट्रिय टोलीमा अवसर पनि पाए । तर फुटबल छाडेर विदेश लागे ।

ललितपुरका सन्तोष त्रिभुवन आर्मी क्लबका प्लेमेकर थिए । २०७५ चैतमा कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनी सन्तोष चार वर्षदेखि नियमित सदस्यका रुपमा छन् । तर उनले पनि अष्ट्रेलिया रोजेका छन् ।

दर्शन र सन्तोषले जस्तै राष्ट्रिय टोलीबाट खेलिसकेका स्ट्राइकरद्वय सुमन लामा र आशिष लामा पनि एक महिना पहिले विदेशिएका थिए । उनीहरु पनि फुटबल छाडेर अस्ट्रेलिया गएका छन् । यसअघि सन् २०१९ मा गोलरक्षक एलन न्यौपाने र मिडफिल्डर हेमन गुरुङ अस्ट्रेलिया पलायन भएका थिए ।

खेलाडीदेखि रेफ्री, प्रशिक्षकको अवस्था व्यावसायिक बन्दै छ । खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्था बन्दैछ । किरण चेम्जोङ, रोहित चन्द जस्ता खेलाडीले नेपालमा मात्र नभएर विदेशमा पनि खेल्न सक्छन् भनेर उदाहरण बनेका छन् ।

अझ अगाडि पुग्ने हो भने राष्ट्रिय टिमकै जगजित श्रेष्ठ, सुलभ मास्के पनि अष्ट्रेलिया नै पुगेका थिए । त्यसभन्दा अझ अगाडि जाने हो भने विदेशिन खेलाडीको सूची लामै बन्न सक्छ ।

नेपालमा नियमित फुटबल खेल्ने र स्थापित भइसकेका फुटबलरको पलायन देशका लागि दुर्भाग्य भएको बताउँछन्, राष्ट्रिय टिमका पूर्व कप्तान राकेश श्रेष्ठ ।

कस्तो छ फुटबलरको आम्दानी ?

२१ वर्षीय दर्शनले पारिवारिक आर्थिक अवस्था कमजोर रहेकाले भारतीय आर्मीमा भर्ना हुन प्रयास गरेका थिए । अहिले उनी विदेशिनुको कारण पनि फुटबलमा भविश्य सुरक्षित नदेखिनु मानिएको छ ।

तर फुटबल विश्लेषक सन्जीव मिश्र भने कतिपय खेलाडी नेपालमा सम्भावना हुँदाहुँदै विदेशिएको मान्छन् । ‘दर्शन गुरुङ विदेशिएको सुन्दा म आफैं अचम्मित छु । उनी नेपालमै पनि खेलेर राम्रो आय आर्जन गर्न सक्ने क्षमता बोकेका खेलाडी हुन् । भर्खर २०–२१ वर्ष भएका खेलाडीको लागि अझै धेरै सम्भावना यहीँ छ,’ उनले भने ।

व्यावसायिक फुटबल गतिविधि नहुने भए पनि स्थापित खेलाडीहरुले वर्षमा १० लाखसम्म आम्दानी गर्ने गरेका छन् । सहिद स्मारक ए डिभिजन लिग, मोफसलका नकआउट प्रतियोगिता, नेपाल सुपर लिग र राष्ट्रिय टिमको सुविधा फुटबलरको आम्दानीका मुख्य श्रोत हुन् । दर्शन, सन्तोष, आशिष, सुमन जस्ता सम्भावना बोकेमा खेलाडीले राम्रा क्लबहरुमा अनुबन्ध हुने सम्भावना कायमै छ ।

सम्भावना जति छ, त्यति नै जोखिम छ । किनकी अहिले नेपाल फुटबल संघ एन्फाले आफ्नो बाचाअनुसार राष्ट्रिय लिग गर्न सकेको छैन भने नेपाल सुपर लिग सुरु त भएको छ, तर निरन्तरतामा प्रश्न छ । निरन्तर फुटबल हुन्छ र आफ्नो भविश्य सुरक्षित छ भन्ने नलागेपछि कतिपय विदेशिन्छन् ।

एन्फाका नवनियुक्त महासचिव किरण राई भने नेपालमा सम्भावना नभएर खेलाडी विदेश गएको मान्न तयार छैनन् । ‘यसले भविष्य छैन भन्ने भ्रम पर्नसक्छ । खेल क्षेत्रमै फुटबलको प्रचुर सम्भावना छ,’ उनले भने, ‘खेलाडीदेखि रेफ्री, प्रशिक्षकको अवस्था व्यावसायिक बन्दै छ । खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्था बन्दैछ । किरण चेम्जोङ, रोहित चन्द जस्ता खेलाडीले नेपालमा मात्र नभएर विदेशमा पनि खेल्न सक्छन् भनेर उदाहरण बनेका छन् ।’

नेपालका लागि खेलेका खेलाडीहरु विदेशिनु दुःखद भए पनि विदेश जानु उनीहरुको व्यक्तिगत निर्णय भएको बताउँछन् । ‘राष्ट्रिय टिमको क्याम्प नभएको समयमा उहाँहरु बाहिरै हुनुहुन्थ्यो । उहाँहरु व्यक्तिगत निर्णयमा जानुभएको हो, एन्फालाई जानकारी छैन,’ एन्फा महासचिव राईले अनलाइनखबरसँग भने ।

यद्यपि नेपाली फुटबलको नियामक निकाय एन्फामा नेतृत्व परिवर्तन भएको चुनावमा अध्यक्ष पंकजविक्रम नेम्वाङले फुटबलरको आर्थिक समुन्नतीलाई एजेण्डा बनाएका थिए । अर्थात अहिले जे छ, त्यो पर्याप्त छै भन्ने उनको स्वीकारोक्ति हो । राष्ट्रिय टिमका पूर्व कप्तान एवं ए लाइसेन्सप्राप्त प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘यहाँ खेलेर अझै भविष्य सुनिश्चित छैन भन्ने लागेर नै गएको हुन सक्छ ।’

एन्फा किरण राई दर्शन गुरुङ नेपाली फुटबल पंकजविक्रम नेम्वाङ सन्तोष तामाङ
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय