
२० असार, धनगढी । नेकपा एमालेको असहमतीका बीच धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेट बहुमतले पारित गरिएको छ । सोमबार बसेको आठौं नगर सभाको बैठकले उपमेयर कन्दकला रानासहित एमालेका नगरसभा सदस्यहरुको विमतीका बीच बजेट बहुमतले पारित गरेको हो ।
नगरध्यक्ष तथा मेयर गोपाल हमालले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन । तर उपमेयर रानाले आफू योजना तर्जु समितिको संयोजक भएपनि बाइपास गरेर मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बजेटमा एकलौटी गरेको आरोप लगाउँदै छलफलमा भाग नलिने बताएकी थिइन् ।
उपमेयर रानाले नगरसभाको सोमबारको बैठकले जबरजस्ती बजेट पारित गरेको भन्दै उक्त निर्णयमा सहमती नभएको प्रतिक्रिया दिएकी छन् ।
रानाले उपमहानगरपालिकाको वार्षिक कार्यक्रम पुस्तिका विधि र प्रक्रिया मिचेर एकलौटी रुपमा आएको बताएपछि दुई पक्षबीच बैठकमा चर्काचर्की हुँदा केहीबेर बैठक स्थगित समेत भएको थियो ।
गत असार १० गतेको नगरसभा बैठकमा उपमेयर रानाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि एक अर्ब ८३ करोड बराबरको बजेट प्रस्तुत गरेकी थिइन् ।
प्रतिक्रिया 4