
२१ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १२औं प्राज्ञ–सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्ने बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सके नेपालको विशिष्ट पहिचान स्थापित हुनुका साथै पर्यटन प्रवर्द्धन हुने उल्लेख गरे । नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले सांस्कृतिक विविधता नेपालको अमूल्य राष्ट्रिय सम्पदा भएको बताए ।
प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र सम्वर्द्धनमा कलाकार र साहित्यकारहरुको अमूल्य योगदान रहेको उल्लेख गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले लोक संगीत, लोक नाट्य र लोक नृत्यहरु लोप हुँदै गइरहेको सन्दर्भ उल्लेख गरे ।
उनले यसको संरक्षण र सम्वर्द्धन गर्नु राज्यको दायित्व भएको बताए । मन्त्री श्रेष्ठले लोक संगीत, नाट्य र नृत्यको दीर्घ साधकहरुको सम्मान गर्दै भावी पुस्ताको सहभागिता बढाउँदै लैजानु आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4