
काठमाडौं । सामाजिक र प्रेमकथामा आधारित हुने फिल्म ‘प्रसाद २’ छायांकनको तयारीमा छ । अहिले कलाकारहरु बागलुङ र कास्कीका गाउँ-गाउँमा पुगेर त्यहाँको रहनसहन र लवज सिक्दैछन् ।
आफूलाई चरित्रमा बदल्न नम्रता श्रेष्ठ, विपिन कार्की, राज कटुवाल, कमलमणि नेपाल लगायतको कलाकार टोली गाउँमा पुगेका हुन् । उनीहरु यसैसाता बागलुङ बजार नजिकको भकुण्डे गाउँमा उक्लिए जहाँ स्थानीय हाउभाउ, भेषभूषा र बोलीचाली शैली सिके ।
तीन दिन भकुण्डेमा रहेर उनीहरुले ग्रामीण मनोविज्ञान टिप्ने प्रयत्न गरे । कथाको सेटिङ पनि बागलुङकै भएकाले कलाकारलाई ग्राउन्ड जिरोमै उतारेर फिल्मले कार्यशाला चलाएको हो ।
देवेन्द्र बब्लुले उनीहरुलाई आञ्चलिकता सिकाइरहेका छन् । पटकथा लेखक सुशील पौडेलका अनुसार ‘प्रसाद २’ टोली बागलुङदेखि कास्कीको ल्वाङघलेल गाउँ फर्किएको छ ।
यही गाउँमै फिल्म छायांकन हुनेछ । बागलुङको रीघामा फिल्म छायांकन गर्ने योजना बनाइए पनि घरको आँगन सानो हुने भएपछि सुटिङ कास्कीमा गर्न लागिएको हो । अझै केही दिन ल्वाङघलेल गाउँमा कार्यशाला चल्ने र अर्को सातादेखि सुटिङ गर्ने तयारी छ ।
फिल्ममा नम्रता र विपिनले नारायणी र बाबुरामको पात्रमा दम्पतीको भूमिका निर्वाह गर्दैछन् । यसैसाता आयोजित पत्रकार सम्मेलनमा पनि उनीहरुले लोकप्रिय चरित्रमाथि पुनः देखिन उत्साहित रहेको बताए ।
सुदर्शन थापाले निर्देशन गर्ने फिल्ममा अर्पण थापाको पनि प्रमुख भूमिका छ । निर्माता सुभाष थापालाई यसपटक निर्माणमा केशव पाण्डेले सघाउँदैछन् । फिल्मलाई तिहारमा प्रदर्शन गर्ने योजना छ ।
प्रतिक्रिया 4