
२१ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाग्लुङले ठूलो परिमाणमा औषधिजन्य लागूऔषध बरामद गरेको छ । सोमबार दिउँसो १ बजेतिर बुटबलबाट बाग्लुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नम्बरको बसबाट लागूऔषध बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय, बाग्लुङका एसपी दयानिधि ज्ञवालीका अनुसार विशेष सुराकीका आधारमा खटिएको टोलीले चिप्लेटी बसपार्कबाट फेनरागन ९०५ एम्पुल, डाईजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुल गरी २७४६ एम्पुल लागूऔषध बरामद गरेको छ ।
कम्ब्याट रङको पछाडी भिर्ने झोलामा कागज र खैरो रङको प्लाष्टिक टेपले बेरिरहेको अवस्थामा लागूऔषध बरामद भएको एसपी ज्ञवालीले बताए ।
उनका अनुसार घटनाको अनुसन्धानका लागि पाल्पाका कृष्णप्रसाद पुरी, गुल्मीका ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीका लोकबहादुर थापा र दाङका २५ वर्षीय शोसन चौधरी नियन्त्रणमा लिइएको छ ।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत, बाग्लुङले २० दिनको म्याद दिएको ज्ञवालीले बताए ।
प्रतिक्रिया 4