
काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिएका हुन् ।
उनले विगत ८/१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताए । विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरुले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ थियो । अटो व्यवसाय सधैं राज्यको टार्गेटमा पर्ने गरेको गुनासो उनको थियो ।
अध्यक्ष थापाले सरकारले राजश्वको दर परिवर्तन गर्दा, राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा समेत अटो मोबाइल्स क्षेत्रलाई उकास्ने किसिमको नल्याउने गरेको गुनासो गरे । उनले सरकारलाई अटो मोबाइल्स क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न सुझाव दिए ।
अध्यक्ष थापाले सरकारलाई राजस्व चाहिए पनि अटो क्षेत्रलाई खोज्ने, र आयातमा कडाइ गर्नुपरे पनि अटो क्षेत्र खोज्ने अभ्यास भएको भन्दै अटो क्षेत्र चुरोट, रक्सीको क्याटागोरीमा राखिन थालेको गुनासो गरे ।
उनले गाडीको हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पुर्याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिनका विषयमा मौद्रिक नीतिले परिमार्जन गर्नुपर्ने बताए ।
उनले भने, ‘ सरकारले राजश्व बढाउनु पर्दा अटो मोबाइल्स क्षेत्रलाई हेर्ने, मौद्रिक नीति ल्याउँदा अटो मोबाइल्सलाई नै अहिले पनि हेर्ने गरेको छ । सरकारलाई के लाग्छ भने सबैभन्दा धेरै राजस्व आउने क्षेत्र यही हो जस्तो लाग्छ ।’
राष्ट्र बैंकले सबै भन्दा बढी पैसा बाहिर पठाउने क्षेत्र यही हो यसलाई ठिक पार्नुपर्छ भन्ने सोच्ने गरेको उनको भनाइ थियो ।
‘अटो मोबाइल्स क्षेत्र चुरोट, बिंडी र रक्सीको क्याटागोरीमा पर्छ जस्तो लागेको छ । हरेक वर्ष अटोमोबाइल्स क्षेत्र टार्गेटमा पर्छ । सवारी बेच्ने स्वरुम हेरेर अनुत्पादन र बिलासिताका वस्तु भनिएको छ,’ अध्यक्ष थापाले भने, ‘घरबाट कार्यालय जानेदेखि हरेक कामको लागि अटोमोबाइल्स चाहिन्छ । अटोमोबाइल्स क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण नै परिर्वतन गर्नुपर्छ ।’
अध्यक्ष थापाले गाडीमा जोखिम भारको कारण बजारमा तरलता सहज हुँदासमेत फाइनान्स हुन नसक्ने अवस्था सिर्जना भएको बताए । उनले अहिले अटो व्यवसाय ७० देखि ८० प्रतिशतसम्म ठप्प रहेको जिकिर गरे ।
प्रतिक्रिया 4