
२२ असार, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भेट गरेको छ । प्रधानमन्त्री देउवासँगको भेटमा नाडाको टोलीले निजी प्रयोजनका सवारी साधनको आयातमा लागेको प्रतिबन्ध हटाउन माग गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।
नाडाको टोलीको माग सुनेपछि प्रधानमन्त्री देउवाले यसविषयमा आफू सकारात्मक रहेको जवाफ दिएको उप्रेतीले बताए ।
प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अव नेपालमै विद्युतीय सवारी साधनहरुको एसेम्बलिङ प्लान्ट स्थापना गरी बढदो व्यापार घाटा कम गर्न सुझाव समेत दिएको उप्रेतीको भनाइ छ ।
प्रधानमन्त्री देउवासँगको भेटमा नाडाका अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौं वस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजस्व योगदान पुर्याउने जानकारी गराएका थिए ।
नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको स्पष्ट पार्दै कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध फुकाउन आवश्यक पहल गरिदिन आग्रह गरे ।
प्रतिक्रिया 4