
२२ असार, काठमाडौं । मन्त्री र सहयोगीहहरुले एकपछि अर्को गर्दै राजीनामा दिन थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्ता संकटमा परेको छ ।
मन्त्रीहरुले प्रधानमन्त्री जोन्सनको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउँदै राजीनामा गरेपछि उनी संकटमा परेको बीबीसीले जनाएको छ ।
मंगलबार मात्रै अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएका थिए । १० मिनेटभित्र दुई जना मन्त्रीले नै जोनसनलाई राजीनामा बुझाएपछि अरु केही कनिष्ट मन्त्री र जोन्सनका सहयोगीले पनि राजीनामा दिएका छन् ।
ऋषि र साजिद दुवै जनाले जोन्सनको चर्को आलोचना गरेका छन् । जावेदले प्रधानमन्त्री जोन्सनले राष्ट्रिय हित विपरीत काम गरेको भन्दै उनको नेतृत्वको आलोचना गरेका छन् । जावेदले जोन्सनको बचाउमा रहेका मन्त्रीहरुप्रति लक्षित गर्दै भनेका छन् ‘इनफ इज इनफ’ ।
गलत सूचनाका आधारमा उनीहरु प्रधानमन्त्रीको रक्षामा उत्रिएको उनको आरोप छ ।
यस्तै सुनकले सरकारले उचित, सुयोग्य र गम्भीर रूपमा काम गरोस् भन्ने सर्वसाधारणको अपेक्षा भएको तर उक्त काम प्रधान्त्रीले नगरेको आरोप लगाएका छन् ।
विपक्षी दलका नेताहरूले अरू मन्त्रीहरुलाई सुनक र जाविद झै पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
जोन्सनमाथिको संकटको कारण यौन दुर्व्यवहारको घटना
सहयोगीहरु जोन्सनविरुद्ध उभिनुको कारण छ उनले गरेको नियुक्ति र नियुक्ति पाउने व्यक्तिमाथिको आरोप । त्यो नियुक्ती पाउने व्यक्ति थिए सत्तारुढ दल कन्जर्भेटिव पार्टीका सांसद क्रिस पिन्चर । जसलाई गत फेब्रुअरीमा जोन्सनले पार्टीको उपप्रमुख नियुक्त गरेका थिए ।
उनै पिन्चरको बारेमा बेलायती पत्रिका द सनले ३० जुनमा एउटा समाचार छापेको थियो । जसमा पिन्चरले निजी क्लबमा दुई जना पुरुषलाई आपत्तिजनक तरिकाले छोएको दाबी गरिएको थियो ।
द सनमा समाचार आउने वित्तिकै पिन्चरले राजीनामा दिएका थिए ।
तर मामिला यत्तिकैमा साम्य भएन बेलायतकै अन्य पत्रिकाले पिन्चरका बारेमा अरु समाचार प्रकाशित गरे । जसअनुसार पिन्चरले कम्तिमा पनि ६ जनामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । पिन्चर यौन दुर्व्यवहारमा संलग्न रहेको आरोपसहितका समाचार आउन थालेपछि पार्टीले उनलाई निलम्बन नै गरेको छ ।
पिन्चरले आफूमाथि लागेको आरोपबारे छानबिन गर्न माग गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
जोन्सले पिन्चरलाई नियुक्ति दिएकोमा माफी मागे । उनले पिन्चरलाई नियुक्ती दिने बेलामा उनीमाथि लागेका आरोपबारे आफूलाई जानकारी नभएको बताए ।
तर ४ जुलाईमा प्रधानमन्त्रीका प्रवक्ताले जोन्सनले पिन्चरका बारेमा लागेका आरोपबारे पूर्व जानकारी हुँदा हुँदै नियुक्ति दिएको बताए ।
सन् २०१९-२० मा पिन्चरको विरूद्धमा एउटा औपचारिक उजुरी आएको थियो । त्यो उजुरीपछि त्यतिबेला विदेशमन्त्री रहेका पिन्चरमाथि अनुशासनको कारबाही पनि भएको थियो ।
यो सबै खुलासा भइसकेपछि जोन्सनको विरोधमा उनको दलका नेता मात्र होइन, मन्त्रीहरु नै उत्रिए र धमाधम राजीनामा दिएका हुन् ।
एउटा यौन दुर्व्यवहारको आरोपीलाई नियुक्ती दिने जोन्सनको कार्यशैली र उनको सरकारमाथि भरोसा नभएको उनीहरुको भनाइ छ ।
पिन्चरको काण्ड सार्वजनिक भएसँगै जोन्सनले कोरोना महामारी जारी रहँदा लकडाउनको नियम तोडेर पार्टी आयोजना गरेको लगायतका विगतमा गरेका गल्ती र कमजोरीलाई लिएर फेरि आलोचन हुन थालेको छ ।
अब के होला त ?
बोरिस जोन्सनविरुद्ध एक महिना अघि आएको अविश्वास प्रस्ताव असफल भएको थियो । त्यसैले जोन्सनका आलोचक अब नेतृत्व परिवर्तनको माग गर्न थालेका छन् ।
त्यसले जोन्सनले राजीनामा गर्ने वा चुनाव घोषणा गर्ने बाटो खुल्ला छ ।
विपक्षी दल लेबर पार्टीका नेता किर स्टार्मरले कन्जर्भेटिभ सरकार ढल्न लागेको भन्दै तत्काल मध्यावधी चुनाव घोषणा गरे पनि आफूहरुलाई मान्य हुने बताएका छन् ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4