
काठमाडौं । तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नालापानी’को मोसन पोस्टर रिलिज भएको छ ।
चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको हो ।
सेप्टेम्बर २४ मा अस्ट्रेलियामा प्रिमियर हुने जानकारी निर्देशक रिमेश अधिकारीले बताए । वीर योद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा चित्रण गर्ने यो फिल्म धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित छ ।
नेपाली वीरताको गाथा र नेपाली सेनाको इतिहास समेटिएकाले विद्यार्थी तथा देशका उच्च ओहोदामा बसेकाले पनि फिल्म हेर्नुपर्ने निर्देशक अधिकारीले बताए । रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।
फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान लगायतको अभिनय छ ।
फिल्म रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्म्स, गंगा नारायण फिल्म प्रोडक्सन र बीजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
प्रतिक्रिया 4