
२३ असार, पोखरा । नेपाली लोक गीत क्षेत्रमा सबैभन्दा बढी सुनिने तर, सबैभन्दा कम सम्झिइने नाम हो, कल्याण शेरचन । नेपाली लोक गीत क्षेत्रलाई ‘कलिलो तामालाई सोध रामलाई’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ’, ‘च्याङ्बा होइ च्याङ्बा, डम्फूले आज के भन्छ ?’ लगायत दर्जनौं कालजयी गीत उपहार सुम्पिए । तर, आफू सधैं गुमनाम रहे ।
ग्रामीण कुनाकन्दरामा गाइने सयौं मौलिक भाकालाई संकलन गरेर कालजयी बनाउन महत्वपूर्ण योगदान दिएका शेरचन ०६७ सालमा माघ २४ गते सदाका लागि अस्ताए । पित्तथैलीको क्यान्सरबाट थलिएका शेरचनको पोखरास्थित मणिपाल अस्पतालमा ६४ वर्षको उमेरमा निधन भएको थियो ।
चुपचाप हल्लाबेगर बाँचेका शेरचन अस्ताउँदा पनि चुपचाप अस्ताए । तर, उनलाई नजिकबाट चिनेका नजिकका साथी सहकर्मीले उनको सम्झनालाई दीर्घ बनाउन कल्याण स्मृति प्रतिष्ठानको स्थापना गरे । यो संस्था २०६९ सालमा विधिवत् दर्ता भएको थियो ।
‘जति उहाँका गीतहरु आज पनि धेरैले गुन्गुनाए पनि कल्याण दाइलाई कमैले सम्झिएको हामीले पाएका छौं । थुप्रै कालजयी गीत छाडेर जानुभएको छ,’ प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ भन्छन्, ‘नेपाली संगीत क्षेत्रमा दाइले दिएको योगदान बिर्सनु हुँदैन भन्ने लाग्छ ।’ शेरचनको ‘च्याङ्बा’ बोलको गीतको धुनलाई बीबीसी नेपाली सेवाले आफ्नो सिग्नेचर धुनसमेत बनाएको थियो ।
सानैदेखि नेपाली लोकगीतमा लगाव राख्ने शेरचनले पछि त्यसैलाई आफ्नो कर्म बनाए । स्कुल तथा स्थानीय तहमा हुने सानाठूला लोकगीत प्रतियोगितामा पनि जहिल्यै बाजी मारिरहे । पहिलो पटक २०२० सालमा ‘किन रोयौ दमिनी भाउजु दमै दाइले कुटेर, टयाङ्कु फुटेर..’ बोलको गीत गाएका उनी सोही गीतबाट रेडियो नेपालबाट पुरस्कृत पनि भएका थिए ।
२० को दशकमै रेडियो नेपालबाट पुरस्कृत भए पनि उनी लामो समयसम्म कुनै गीत ल्याएनन् । तर, ३० दशकमा आएर उनले ०३२ सालमा पहिलो पटक गीत रेकर्ड गराए । गीतको बोल थियो, ‘घर मेरो खुदीमा, बुढो भयो ठूली के जानु रोंधीमा !’
भनिन्छ, तत्कालीन समयमा संगीतकार गोपाल योञ्जनसँगको संगत नै शेरचनको संगीत उन्नयनको संगत थियो । प्रतिष्ठानका अनुसार तत्कालीन समयमा कवि भूपि शेरचन, गायक पूर्ण नेपाली, क्षेत्र गुरुङ लगायतको एउटा ब्यान्ड थियो । त्यही समूहबाटै उनले लोकगीत संकलनमा ठूलो सहयोग मिल्यो ।
‘उहाँले जीवन कालमा आफ्नोभन्दा धेरै अरुकै काम गर्नुभयो । अरुकै लागि काम गर्नुभयो । त्यही भएर पनि धेरैले चिननेन्,’ अध्यक्ष गुरुङले भने, ‘स्वयं भाउजु र उहाँकै दाइभाइले पनि नजिकबाट चिन्न सक्नुभएन ।’
शेरचनको ‘सोह्र वर्षे उमेरैमा’, ‘च्याङ्बा’सहित, ‘सुखी ज्यानलाई गुँदरी काम्लो’, ‘कलिलो तामालाई सोध रामलाई’, घर मेरो खुँदीमा’, ‘काली पनि देखें मैले, गोरी पनि देखें’, ‘ए भेना यो साल, ल्याइदेऊ मलाई पछ्यौरी मलमल’, ‘रात काटें रोएर, दिन काटे जसरी तसरी’ लगायत दर्जनौं बढी गीत आजपर्यन्त चर्चित छन् ।
यसबाहेक शेरचनले गण्डकीको मौलिक भाकाको रुपमा रहेको कौरा गीति भाका तथा नृत्यलाई जनमानससम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले शेरचन संगीतमात्रै नभएर खेल, शिक्षा, सामाजिक क्षेत्रलगायत सबैमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सुनाए ।
‘उहाँ सांगीतिक अभियन्ताका साथै मास पिटीलाई नेपालमा भित्राएर विद्यालयस्तरमा प्रशिक्षण र प्रवद्र्धन पनि गर्नुभएको थियो,’ स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुङ सम्झिन्छन्, ‘ग्रामीण कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय, भाका संकलन र गायनसहित संरक्षण र उत्थानमा उहाँको ठूलो भूमिका छ ।’
प्रतिष्ठान अहिले पोखरामा नेपाली लोकबाजाहरुको संरक्षण तथा प्रवर्द्धनका लागि ‘लोकबाजा संग्रहालय’ बनाउने तयारीमा छ । ‘हाम्रा मौलिक बाजागाजा लोप हुने अवस्थामा पुगिसके । अहिले पनि बचाउन प्रयत्न गरेनौं भने गुम्छ,’ गुरुङले भने, ‘त्यसैले सबैलाई बचाउन संग्रहालय बनाउने योजनामा छौं । धेरैबाट सहयोगको आश्वासन पनि पाइसकेका छौं ।’
शेरचनको स्मृतिमा सर्वाधिक राशीको लोकदोहोरी प्रतियोगिता
कल्याण शेरचनस्मति प्रतिष्ठानको उनको जन्म जयन्तीको अवसरमा हालसम्मकै ठूलो पुरस्कार राशीको लोकदोहोरी प्रतियोगिता गर्ने भएको छ । उनको ७६ औं जन्मजयन्तीको अवसरमा पोखरा सभागृहमा साउन १२ देखि १४ गतेसम्म खुला दोहोरी प्रतियोगिता आयोजना गर्न लागेका प्रतिष्ठानमा सचिव जीवन दाहालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा पहिलो स्थानले ल्याउने दोहोरी समूहले नगद ६ लाख रुपैयाँ, दोस्रोले ४ लाख, तेस्रोले २ लाख रुपैयाँ र सान्त्वना हुने समूहले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक दाहालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट गायक गायिका, अनुशासित समूहलाई पनि प्रति समूह ५० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
एक जना महिला र एकजना पुरुषको मात्रै समूह हुने र टुक्का छोप्न आयोजकले २ जना पुरुष र २ जना महिला गरी ४ जना कलाकार उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा देशभरिका करिब ४५ समूह सहभागी हुने आयोजकको अनुमान छ ।
प्रतियोगितामा ५५ लाख आम्दानी र ३९ लाख रुपैयाँ खर्च हुने आयोजकको लक्ष्य छ । ‘बचेको रकम लोकबाजा संग्रहालय र शेरचनको प्रतिमा बनाउन खर्च गर्ने योजनामा छौं,’ सचिव दाहालले भने । प्रतियोगिताको फाइनल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेसमेत आयोजकले जनाएको छ ।
‘प्रतियोगिताको भाका केही दिनमा सार्वजनिक गर्छौं । भाका प्रयोग भएका गीतका सर्जक, गायक, कम्पनी सबैसँग हामी सम्झौता गर्ने तयारीमा छौं । उहाँहरुलाई सम्झौता बमोजिम कार्यक्रममै रोयल्टी पनि दिन्छौं’, प्रतिष्ठानका अध्यक्ष गुरुङले भने, ‘कोही कलाकर्मी भोकै नरहुन् भन्नेमा हामी गम्भीर छौं ।’
प्रतियोगिताकै दौरान शिक्षा तथा संगीतमा योगदान दिएका २ जनालाई पनि प्रतिष्ठानले सम्मान गर्ने भएको छ । विविध क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई प्रतिष्ठानले बर्सेनि २५ हजार रुपैयाँसहित सम्मान गर्दै आइरहेको छ ।
यसवर्ष पोखराकै शिक्षासेवी तथा स्वर्गीय शेरचनका सहपाठी योगेन्द्र बस्नेतलाई मरणोपरान्त सम्मान र संगीतकार नारायण रायमाझीलाई पुरस्कृत गरिने पुरस्कार छनोट समितिका संयोजक खिम गुरुङले जानकारी दिए ।
प्रतिक्रिया 4