
२३ असार, विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा करिब ६३ प्रतिशत पुँजीगत खर्च गरेको छ ।
२०७८–०७९ मा विनियोजन गरेको पुँजीगत तर्फको १८ अर्ब ६ करोड ३० लाख ८५ हजारमध्ये ११ अर्ब ५५ करोड ८३ लाख २३ हजार रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्षको ३४ अर्ब ७३ करोड १९ लाख नौ हजारको(संसोधनसहित) बजेट ल्याएको थियो । जसमध्ये चालुतर्फ बजेट १६ अर्ब ६३ करोड आठ लाख विनियोजन गरेको थियो ।
असार तेस्रो सातासम्म चालुतर्फ ११ अर्ब एक करोड २४ लाख ६१ हजार खर्च भएको छ, जुन कुल चालु खर्चको ७० प्रतिशत हो । समग्र बजेटमा २३ अर्ब ३७ करोड सात लाख ८४ हजार बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले ४८ दिनमा (जेठ १ गतेदेखि असार १७ सम्म) दुई अर्ब २३ करोड रुपैयाँ पूजीगत खर्च गरेको छ ।
प्रदेश सरकारले जेठ महिनामा मात्रै पूँजीगततर्फ एक अर्ब आठ करोड र असार महिनाको १७ गतेसम्म (१७ दिनमा) एक अर्ब १५ करोड खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा चार अर्ब नौ करोड ७५ लाख ९६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । असार तेस्रो सातासम्म तीन अर्ब ९७ करोड ४४ लाख २२ हजार राजस्व संकलन गरेको छ ।
प्रदेश १ सरकारले आगामी आर्थिक २०७९–८० का आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट ल्याएको छ ।
प्रतिक्रिया 4