
२३ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना अन्तर्गत ४० जना युवालाई रिभर गाइड तालिम दिन थालेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा बोर्डले रिभर गाइड तालिम दिन थालेको हो ।
बुधबारदेखि नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाडौंमा सात दिने रिभर गाइडको लाइसेन्सिङ तालिम सुरु भएको हो ।
नेपाल पर्यटन बोर्ड, एसटीएलआरपी परियोजनासँगको साझेदारीमा नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को आयोजनामा तथा नाथमसँगको सहकार्यमा ४० जनालाई रिभर गाइड तालिम प्रदान गर्न लागिएको बोर्डले जनाएको छ । तालिममा १२ महीला र २८ जना पुरुष सहभागी छन् ।
परियोजनाले गत वर्ष अल्पकालीन रोजगारीलाई जोड दिएकोमा अहिले केही नयाँ जनशक्ति थप गर्ने तथा भएको जनशक्तिलाई थप दक्ष बनाउने गरी तालिम सञ्चालन गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।
नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटन बोर्ड तथा एसटीएलआरपी परियोजनासँगको सहकार्यमा नाराले यस अघि महिला रिभर गाइडको निःशुल्क तालिम सञ्चालनमा ल्याएको जानकारी दिए ।
प्रतिक्रिया 4