
काठमाडौं । हलिउड स्टार जेम्स कानको ८२ वर्षको उमेरमा निधन भएको छ । मास्टर पिस फिल्म ‘गडफादर’को चरित्र ग्याङस्टर सोनी कोर्लोनबाट उनी संसारभर परिचित छन् ।
मिडिया विवरणका अनुसार उनको निधनको खबर परिवारले उनको सामाजिक सञ्जालबाट पोस्ट गरेका थिए । जेम्सको परिवारले पोस्टमा लेखेको छ, ‘हामी ठूलो दुःखका साथ भन्न चाहन्छौं कि ६ जुलाईमा जेम्सको निधन भएको छ । हामी सबै शुभचिन्तकको भावनालाई सम्मान व्यक्त गर्दछौं ।’
जेम्सको पूरा नाम जेम्स एडमन्ड कान थियो । सन् १९६३ मा रिलिज भएको फिल्म ‘इरमा ला डान्स’बाट उनले फिल्म करिअरको थालनी गरेका थिए । मिसरी, एल्फ, चोर, गडफादर पार्ट २, ब्रायन्स सङ र द ग्याम्बलर फिल्ममा उनले अभिनय गरेका छन् ।
उनको अन्तिम फिल्म सन् २०२१ मा रिलिज भएको ‘क्वीन बीज’ थियो । उनी चार गोल्डेन ग्लोब, एक एमी र एक ओस्कारसहितका अवार्डमा मनोनित भएका थिए ।
अभिनयसँगै उनी व्यक्तिगत कारणले पनि चर्चामा थिए । उनले चारपटक विवाह गरेका थिए । उनका पाँच सन्तान छन् ।
प्रतिक्रिया 4