+

नवौं खेलकुदका लागि ६० करोड बजेट पारित, सातै प्रदेशमा ‘ट्रफी टूर’ गरिने

२०७९ असार  २४ गते १८:०६ २०७९ असार २४ गते १८:०६
नवौं खेलकुदका लागि ६० करोड बजेट पारित, सातै प्रदेशमा ‘ट्रफी टूर’ गरिने

२४ असार, काठमाडौं । आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुने तय भएको नवौं बृहत राष्ट्रिय खेलकुदका लागि सरकारले विनियोजन गरेको ६० करोड बजेट पारित भएको छ ।

शुक्रबार काठमाडौंमा बसेको नवौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको पहिलो बैठकले बजेट पारित गर्ने निर्णय गरेको हो । नवौं खेलकुदका लागि ९६ करोड बजेट आवश्यक गर्ने प्रस्ताव गरे पनि सरकारले ६० करोडमात्र विनियोजन गरेको थियो ।

समितिको बैठकले पहिलोपल्ट टिम च्याम्पियन ट्रफी प्रदान गर्ने निर्णय गरेको छ । १० लाख मूल्य लागतमा निर्माण हुने ‘रनिङ शिल्ड’ लगातार तीनपल्ट जित्ने टिमले आफूसँगै राख्न पाउनेछ ।

ट्रफीलाई ओलम्पिक टर्चसँगै सात प्रदेश र चार विभागमा भ्रमण गराउने पनि निर्णय भएको छ । आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन भएको थियो ।

वैठकले मन्त्रिपरिषदबाट पारित भएको नवौं खेलकुद कार्यसन्चालन निर्देशिका अनुमोदन गरेको छ । निर्देशिकामा भएका त्रुटिबारे पनि अन्तक्र्रिया भएको छलफलमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

निर्देशिकाले राष्ट्रिय खेलकुद परिषदका अध्यक्षसमेत रहने युवा तथा खेलकुदमन्त्रीलाई मूल आयोजक समितिको संयोजक तोकेको छ । मन्त्री महेश्वरजंग गहतराजकै नेतृत्वमा शुक्रबार पहिलो वैठक बसेको थियो ।

मूल आयोजक समितिमा राखेप सदस्यसचिव समितिको पनि सदस्यसचिव रहने व्यवस्था छ । राखेप उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति र सदस्यसचिवको नेतृत्वमा कार्यकारी समिति रहने व्यवस्था छ । वैठकले निर्देशिकाले परिकल्पना गरेका १४ वटा विषयगत उपसमिति निर्माण गर्ने जिम्मेबारी कार्यकारी समितिलाई दिने निर्णय पनि गरेको छ ।

वैठकले सात प्रदेशलाई नवौं राष्ट्रिय खेलकुदका लागि टिम छनोट र तयारीका लागि ४९ लाख रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ । प्रदेशहरुले तयारीका लागि ७५ लाख पाउनुपर्ने माग गरेका थिए । त्यस्तै चार विभागीय टिमले २० लाख माग गरेकोमा ९ लाखका दरले तयारी खर्च पाउने भएका छन् । विभागीय टिमहरु नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ र गैरआवासीय नेपाली संघ छन् । सरकारले आठौं राष्ट्रिय खेलकुददेखि गैरआवासीय नेपालीको टिम सहभागी गराउन थालेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नवौं राष्ट्रिय खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी गरी ३८ खेलका विधाहरुमा प्रतिस्पर्धा गराउने निर्णय गरेको छ । बैठकले राखेप बोर्ड बैठकको सो निर्णयलाई पनि अनुमोदन गरेको छ । नवौं राष्ट्रिय खेलकुदमा करिव ७ हजार खेलाडीसँगै प्रशिक्षक, व्यवस्थापक, संघका प्रतिनिधि र निर्णायक गरी ९ हजार ५ सयभन्दा बढीको सहभागिता रहनेछ ।

समितिकाे दाेस्राे बैठक पाेखरामै बस्ने निर्णय भएकाे छ ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय