
२४ असार, काठमाडौ । मोबाइल सेवाको गुणस्तर अनुभूति मापन गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधिमैत्री एकीकृत सूचना प्रणालीको विकास गरेको छ ।
बिहीबार प्राधिकरणले आफ्नो २४औं वार्षिक उत्सवमा उक्त प्रणालीको विकास गरेको दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण वासुकलालले जानकारी दिइन् ।
उनका अनुसार यो प्रणालीमार्फत मोबाइल सेवाका ग्राहकहरुले मोबाइल एप, वेब एप, यूएसएसडी, आईभीआर लगायतका विभिन्न माध्यमबाट गुणस्तर सर्वेक्षणमा सहभागी हुन सक्नेछन् ।
गुणस्तर सर्वेक्षणमा प्राप्त प्रतिक्रियाहरुलाई एकीकृत प्रणालीमा विश्लेषण गरेर प्रतिवेदन तयार गर्ने व्यवस्था गरिएको उनले बताइन् ।
प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि एजटीए क्यूओई सर्भे नामक मोबाइल एपसमेत सार्वजनिक गरेको छ । जसलाई ग्राहकहरुले प्लेस्टोरबाट डाउनलोड गरी एपमा रजिष्ट्रेसन गरेर मोबाइल सेवा प्रदायकले दिने भ्वाइस तथा डाटाहरुको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षण गर्न सक्नेछन् ।
यस्तैं ग्राहकहरुले वेब एप्लिकेसनको माध्यमबाट पनि मोबाइल सेवाको गुणस्तर सर्वेक्षण गर्नसक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘ मोबाइल सेवाको गुणस्तर सर्वेक्षणको लागि निर्माण भएको Web Application <https://qoe.nta.gov.np/> मा उपलब्ध रहेको छ । उक्त वेब एपमा मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सकिन्छ।’
यस्तै अर्को यूएसएसडीबाट पनि मोबाइल सेवाको गुणस्तर सर्वेक्षणमा सहभागी हुन सकिने प्राधिकरणले जनाएको छ । उक्त माध्यममा ग्राहकले आफ्नो मोबाइलमा *३४५६७# डायल गरी मोबाइल सेवा प्रदायकको भ्वाइस तथा डाटा सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन सक्नेछन् ।
यस्तै मोबाइल सेवाको गुणस्तर मापनमा सहभागी हुन आईभीआर प्रणालीको पनि प्रयोग गर्न सक्नेछन् । जसमा ग्राहकले आफ्नो फोनमा ३४५६७ डायल गरी सोधिएका प्रश्नहरु सुनेर आफूलाई लागेको अनुभूति डायल प्याडमा राखेर मोबाइल सेवाको गुणस्तर, शुल्क तथा समग्र अनुभूतिका सम्बन्धमा सर्वेक्षणमा सहभागी हुन अनुरोध गरिएको छ ।
प्रतिक्रिया 4