+
+
अनुवाद :

आर्थिक स्वाधीनताका लागि संघर्ष र श्रमजीवी महिलावाद

संघर्षको इतिहासलाई केलाउँदा, सर्वहारा महिलाहरूको अवस्था सुधार गर्नको लागि बुर्जुवा महिलावादी आन्दोलनले पुर्‍याएको सामान्य योगदानबारे एउटा मात्र तथ्य फेला पार्न समेत हामीलाई गाह्रो छ । सर्वहारा महिलाहरूले आफ्नो जीवनस्तर उकास्ने क्षेत्रमा जे-जस्ता सफलता हासिल गरेका छन्, त्यो सामान्य र विशेषगरी श्रमजीवी वर्गको प्रयासको परिणाम हो ।

एलेक्जेन्द्रा कोलोन्ताइ एलेक्जेन्द्रा कोलोन्ताइ
२०७९ असार २५ गते ७:५०

(पूँजीवादले भूमण्डलीकरणमार्फत ठूलो सञ्जाल सृजना गरिरहेको समकालीन विश्वमा समाजवादी महिलावादलाई ओझेल पार्ने गरी उदारवादी महिलावाद अग्रसर हुँदैछ । समाजको संरचना परिवर्तनमा कुनै खास चासो नदिई, सिर्फ राजनीतिक र कानुनी सुधारबाट पुरुष र महिलाको व्यक्तिगत तहको समानता खोज्ने उदारवादी महिलावादीहरू, यतिबेला अब संसारका सबै दिदीबहिनी एकै हुनुपर्छ भन्दै ‘सिस्टरहुड्’ को आहृवान गरिरहेका छन् । सबै महिला एकै हौं भन्ने भावनात्मक कुरा गरेर, श्रमिक महिलाको हितमा कम र आफ्नोपद-प्रतिष्ठाको लागि ज्यादा ध्यान दिइरहेका यस्ता महिलावादीहरूसँग समाजवादी महिलाहरूले कस्तो खालको सम्बन्ध राख्नुपर्ने हो, उनीहरूलाई कसरी बुझ्नुपर्ने हो भन्ने कुरा चर्चा गर्न जरूरी छ ।

यसै सन्दर्भमा एलेक्जेन्द्रा कोलोन्ताइले श्रमिक महिलाहरूलाई सम्बोधन गर्दै सन् १९०९ मा ‘महिला’ प्रश्नको सामाजिक आधारमा श्रमिक महिलाहरूको आर्थिक स्वतन्त्रता, श्रमिक आन्दोलन र यससँग बुर्जुवा महिलाहरूसँगको सम्बन्धको ऐतिहासिकताबारे व्याख्या गरेकी छन् । उक्त व्याख्यानको अधिवक्ता करुणा पराजुलीले गरेको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ ।)

सर्वप्रथम वर्गीय अन्तरविरोधमा आधारित समाजमा एउटै र एकताबद्ध महिला आन्दोलन सम्भव छ कि छैन भनेर हामीले आफैंलाई प्रश्न गर्नुपर्छ । वर्गीय समाजमा मुक्ति आन्दोलनमा सहभागी महिलाहरूले एउटै समरूप जनसमूहको प्रतिनिधित्व गर्दैनन् भन्ने तथ्य समाजका जो-कोही निष्पक्ष निरीक्षकका लागि स्पष्ट छ ।

पुरुषको संसार जस्तै महिलाको संसार पनि दुई शिविरमा बाँडिएको छ । जिन्दगीको चासो र आकांक्षा मिलेपछि महिलाको एउटा समूह पूँजीवादी वर्गको नजिक आउँछ भने अर्को समूहले सर्वहारा श्रमजीवी वर्गसँग घनिष्ठ सम्बन्ध राख्छ । र, यो सर्वहारा वर्गसँगको सामीप्यता राख्ने समूहले महिला प्रश्नको पूर्ण समाधान समेटेर मात्र महिला मुक्ति सम्भव छ भन्ने दाबी गर्छ । दुवै शिविरले महिला मुक्तिको कुरा सामान्य नारा लगाउँछन् नै, तर पनि तिनीहरूको उद्देश्य र रुचि भने फरक छ । जानी नजानी, अचेत रूपमा नै प्रत्येक समूहले आफ्नो मुक्तिको प्रारम्भिक विन्दु आफ्नै वर्गको हितबाट हुन्छ भन्ने धारणा लिन्छन् । यसले गर्दा उनीहरू आफैंले तय गरेको लक्ष्य र कार्य स्वयंले आफ्नो वर्गको विशिष्ट रंग प्रकट गर्छ ।

महिलावादीका मागहरू स्पष्ट रूपमा कट्टरपन्थी भएतापनि, समाजको समसामयिक आर्थिक र सामाजिक संरचनाले निर्माण गर्ने आफ्नो वर्गीय स्थितिका कारण आमूल परिवर्तनका लागि उनीहरू लड्न सक्दैनन् । तर रूपान्तरणको लडाइँ विना महिला मुक्ति पूर्ण हुन सक्दैन भन्ने तथ्यलाई कसैले पनि बिर्सिनुहुँदैन ।

यदि कुनै निश्चित परिस्थितिमा सबै वर्गका महिलाको अल्पकालीन कार्यहरू मिल्दोजुल्दो भयो भने पनि, दीर्घकालीन रूपमा भने आन्दोलनको दिशा र दुई शिविरहरूले निर्धारण गरेको कार्यनीतिका कारण, दुई शिविरका अन्तिम उद्देश्य भने स्पष्ट रूपमा भिन्न हुन्छन् । जस्तो कि, समकालीन पूँजीवादी संसारका महिलावादीहरूका लागि, पुरुषसँगको समान अधिकारको उपलब्धि आफैंमा पर्याप्त र ठोस उपलब्धि हो । तर वर्तमान समयमा सर्वहारा महिलाहरूका लागि भने समान अधिकार मजदुर वर्गको दासत्व र आर्थिक असमानता विरुद्धको संघर्षलाई अगाडि बढाउने माध्यम मात्र हो ।

बुर्जुवा महिलावादीहरूका लागि पुरुषहरू नै मुख्य शत्रु हुन् किनभने पुरुषहरूले अन्यायपूर्ण रूपमा आफ्ना लागि सबै अधिकार र विशेषाधिकारहरू कब्जा गरेका छन् र महिलाहरूलाई विभिन्न नैतिकताका बन्धन बाँधेर कर्तव्यहरू मात्र छोडेका छन् । उनीहरूका लागि तब मात्र विजय प्राप्त हुन्छ जब पुरुषले पहिले विशेष रूपमा उपभोग गरेको विशेषाधिकार महिलामा पनि रहेको स्वीकार गरिन्छ । तर, यसमा सर्वहारा महिलाहरूको दृष्टिकोण भने फरक छ । तिनीहरूले केटा मानिसहरूलाई शत्रु र उत्पीडकको रूपमा हेर्दैनन् । यसको विपरीत, तिनीहरू पुरुषहरूलाई आफ्ना साथीका रूपमा सोच्छन्, जसले उनीहरूसँग दिन-दिनकोे कठिनाइ साझा रूपमा सामना गर्छन् र उनीहरूसँग राम्रो भविष्यको लागि सँगसँगै लड्छन् ।

महिला र तिनका पुरुष साथीहरू एउटै सामाजिक अवस्थाद्वारा दास हुन्छन् । पूँजीवादको एउटैखाले घृणित शृंखलाहरूले उनीहरूको इच्छालाई दमन गर्छन् र उनीहरूलाई जीवनको आनन्द र आकर्षणबाट वञ्चित गर्छन् । यो सत्य हो कि समकालीन समाज व्यवस्थाका धेरै विशिष्ट पक्षहरूले महिलाहरूमा दोहोरो भार पारेका छन् । यो पनि सत्य हो कि कामदार श्रमको अवस्थाले कहिलेकाहीं कामदार महिलाहरूलाई पुरुषको प्रतिस्पर्धी र प्रतिद्वन्द्वीमा परिणत गर्ने गर्दछ । तर यी प्रतिकूल परिस्थितिहरूमा मजदुर वर्गलाई यस अवस्थाको दोषी को हो भन्ने थाहा छ ।

त्यो अतृप्त राक्षस पूँजीवाद, जो आफ्नो सुनको काँडा प्रयोग गरेर आफ्ना पीडितहरूबाट सबै रस निकाल्न र लाखौं मानव जीवनको बर्बादीमा आफू अगाडि बढ्नको लागि मात्र चिन्तित छ, उक्त राक्षसलाई आफ्नो भाइभन्दा कुनै मामलामा कम नभएकी महिला मजदुर पनि घृणा गर्छिन् । यो अतृप्त पूँजीवादले पुरुष, महिला र बच्चालाई समान लोभले शोषण गर्छ । यसका शोषणका हजारौं धागोले श्रमको सिलसिलामा, यो शोषणको सामना गर्ने क्रममा श्रमिक पुरुषलाई, महिला मजदुरको नजिक ल्याउँछ । यही क्रममा अर्कोतर्फ, पूँजीवादी महिलाका अनौठो र बुझ्न नसकिने आकांक्षाहरू प्रकट हुन्छन् । ती पूँजीवादी महिलाहरूका आकांक्षाले सर्वहारा हृदयलाई न्यानो पार्दैनन् । तिनीहरूले सर्वहारा महिलालाई, सबै शोषितलाई, मानवीय मुक्तितर्फ आँखा फर्केको उज्यालो भविष्यको बाचा गर्दैनन् ।

सर्वहारा महिलाको अन्तिम लक्ष्यले पक्कै पनि वर्तमान पूँजीवादी व्यवस्थाको ढाँचाभित्र रहेर पनि आफ्नो स्थिति सुधार्ने चाहनामा कुनै व्यवधान खडा त गर्दैन । तर पूँजीवादी व्यवस्थाबाट निस्कने बाधाहरूद्वारा यी चाहनाहरूको प्राप्तिमा भने निरन्तर अवरोध भइरहेको छ । सामाजिक श्रम, सद्भाव र न्यायको संसारमा मात्र महिलाले समान अधिकार प्राप्त गर्न सक्छन् र वास्तवमा स्वतन्त्र हुनसक्छन् ।

पूँजीवादी महिलावादीहरू यो कुरा बुझ्न इच्छुक नै छैनन् र अझ यो कुरा बुझ्न अक्षम पनि छन् । कानुनको पत्रद्वारा समानतालाई औपचारिक रूपमा स्वीकार गर्दा उत्पीडन, दासता र बन्धन, आँसु र कठिनाइको पुरानो संसारमा अब आफ्नो लागि आरामदायी ठाउँ प्राप्त गरेर हामीले जितियो भन्ने उनीहरूलाई लाग्छ । यो एक हदसम्म सत्य पनि हो । तर, सर्वहारा वर्गका बहुसंख्यक महिलाहरूको लागि भने, पुरुषसँग समान अधिकारको अर्थ पूँजीवादी समाजमा रहेको असमानतामा प्राप्त भएको समान हिस्सा मात्र हुनेछ ।

तर, चुनिएका केही थोरै पूँजीवादी महिलाहरूका लागि, यसले वास्तवमा नयाँ र अभूतपूर्व अधिकार र विशेषाधिकारहरूको ढोका खोल्नेछ जुन अहिलेसम्म पूँजीवादी वर्गका पुरुषहरूले मात्रै उपभोग गरेका छन् । तर पूँजीवादी महिलाले जितेको यस्ता हरेक नयाँ सहुलियतले उसलाई कान्छी बहिनीको शोषणको लागि भने अर्को हतियार दिनेछ र दुई विपरीत सामाजिक शिविरका महिलाहरूबीचको विभाजनलाई बढाउँदै लैजान्छ । तिनीहरूको चासोहरू झन् तीव्र रूपमा द्वन्द्वमा हुनेछन् । तिनीहरूका आकांक्षाहरू स्पष्ट रूपमा विरोधाभासमा हुनेछन्, अन्तरविरोधपूर्ण हुनेछन् ।

यसरी हेर्दा, त्यो सामान्य रूपमा ‘सबै महिला एउटै’ भन्ने प्रश्न कहाँ छ ? सबै महिलाहरूको काम र आकांक्षाहरूको त्यो एकता कहाँ छ, जसको बारेमा बुर्जुवा महिलावादीहरूले यति धेरै भन्ने गर्छन् । वास्तवमा शान्त नजरले हेर्दा स्पष्ट देखिन्छ, आजको समाजमा सबै महिलाहरूको त्यस्तो एकता, एकैखाले परिभाषा अवस्थित नै छैन र यो हुन पनि सक्दैन ।

यसैगरी, पूँजीवादी महिलावादीहरूले महिला सम्बन्धी प्रश्नको कुनै खास राजनीतिक दलसँग कुनै सरोकार छैन र यसको समाधान सबै दल र सबै महिलाको सहभागितामा मात्र सम्भव छ भनी आश्वस्त पार्ने प्रयास गर्छन् । तर एक कट्टरपन्थी जर्मन महिलावादीले भनेकी छन्, तथ्यहरूको तर्कले हामीलाई महिलावादीहरूको यो सान्त्वनादायी भ्रमलाई अस्वीकार गर्न बाध्य पार्छ ।

उत्पादनको अवस्था र रूपहरूले मानव इतिहासभरि महिलाहरूलाई वशमा पारेको छ, र उनीहरूलाई क्रमशः उत्पीडन र परनिर्भरताको स्थितिमा पुर्‍याएको छ । पूँजीवादी महिलाहरूमध्ये धेरैजसो पनि अहिलेसम्म यही स्थितिमा छन् । महिलाहरूले गुमाएको महत्व र स्वतन्त्रता पुनः प्राप्त गर्न सुरु गर्नुअघि, सम्पूर्ण सामाजिक र आर्थिक संरचनामा ठूलो उथलपुथल आवश्यक थियो । कुनै समय प्रतिभाशाली चिन्तकहरूका लागि ज्यादै कठिन लाग्ने समस्याहरू अहिले उत्पादनका निर्जीव तर सर्वशक्तिमान अवस्थाहरूले समाधान गरेका छन् । हजारौं वर्षसम्म महिलालाई दास बनाउने त्यही शक्तिले अहिले विकासको अर्को चरणमा उनीहरूलाई स्वतन्त्रता र स्वाधीनताको बाटोमा डोर्‍याइरहेको छ ।

पूँजीवादी महिलाहरूको उद्देश्य श्रमजीवी महिलाहरूको हित विरोधी ढाँचाको समाजलाई कायम राखेर, बुर्जुवाहरूको आफ्नो हित रक्षा गर्नु हो । तर हाम्रो (श्रमजीवी महिलाको) उद्देश्य भने पुरानो संसारको ठाउँमा, सार्वभौमिक श्रमको मन्दिर रहेको, एकता र आनन्दमय स्वतन्त्रताले भरिएको उज्यालो संसार निर्माण गर्नु हो

सर्वहारा महिलाहरू श्रम क्षेत्रमा आइपुगेको धेरै समयपछि, लगभग उन्नाइसौं शताब्दीको मध्यतिर पूँजीवादी वर्गका महिलाका लागि ‘महिला प्रश्न’ महत्वको विषय थियो । पूँजीवादको भयंकर सफलता सँगसँगै मध्यम वर्गका जनता आफ्ना आवश्यकताका विविध छालको आक्रमणमा परेका थिए । पूँजीवाद सँगसँगै आएको आर्थिक परिवर्तनले निम्न र मध्यम पूँजीपति वर्गको आर्थिक अवस्थालाई अस्थिर बनाएको थियो र बुर्जुवा वर्गका महिलाहरूले गरिबी स्वीकार गर्ने वा काम गर्ने अधिकार प्राप्त गर्ने भन्ने द्विविधाको सामना गर्नुपरेको थियो । यी सामाजिक वर्गका श्रीमती र छोरीहरूले विश्वविद्यालय, कलाका संस्थान, सम्पादकीय कक्ष, कार्यालय जस्ता खुला पेशाहरूमा प्रवेशको बाढी आउन थाले । यसरी पूँजीवादी महिलाहरूमाझ विस्तार भएको विज्ञानमा पहुँच र संस्कृतिमार्फत प्राप्त भएका यी एक्कासी प्राप्त भएका अवसरहरू होइनन्, यी त उनीहरूको दैनिक रोजीरोटीको प्रश्नलाई हल गर्ने प्रयत्नबाट उत्पन्न भएको परिणाम हो ।

पूँजीपति वर्गका महिलाहरूले सुरुदेखि नै पुरुषहरूको कडा प्रतिरोधको सामना गर्नुपरेको थियो । कतिपय कामको क्षेत्रमा, पहिल्यैदेखि सहभागी र आरामदायीपूर्वक पेशाका रूपमा काम गरिरहेका पुरुषहरू र आफ्नो दैनिक रोजीरोटी कमाउने बाध्यतामा उक्त कामको क्षेत्रमा नवप्रवेशी महिलाहरूबीच एक हठी युद्ध नै छेडिएको थियो । हो यही खाले सङ्घर्षले ‘महिलावाद’ को जन्म दियो – र यही महिलावादलाई पूँजीवादी महिलाहरूले आफूहरू एकसाथ खडा हुने र आफ्नो सामूहिक शक्ति, शत्रु पुरुषहरू विरुद्ध खडा गर्ने प्रयासका रूपमा प्रयोग गर्न थाले । पुरुषहरूको वर्चस्व रहेको श्रम क्षेत्रमा प्रवेश गर्दा यी महिलाहरूले गर्वका साथ आफूलाई महिला आन्दोलनको अग्रदूत भनेर सम्बोधन गरे । तर यी बुर्जुवा महिलाहरूले यो कुरा बिर्से कि, उनीहरूको आर्थिक स्वाधीनताको यो लडाइँमा भएको जीत, वास्तवमा उनीहरू सँगसँगै पाइला जोडेर हिंड्ने उनीहरूकै कान्छी दिदीबहिनीहरूको हातले ठेला परुञ्जेल गरेको परिश्रमको फल थियो ।

पूँजीवादी महिला आन्दोलन जन्मनुुभन्दा अगाडि नै विभिन्न देशमा लाखौं सर्वहारा महिलाले उद्योगका एकपछि अर्को शाखाहरू आफ्नो हातमा लिने र विभिन्न कामको जिम्मा लिने बाढी नै चलेको थियो । यस तथ्यले भन्छ कि बुर्जुवा महिलाहरूले महिलावादी आन्दोलनको अग्रदूतको रूपमा, प्रारम्भकर्ताको रूपमा गर्व गर्नुको कुनै अर्थ छैन ।

संघर्षको इतिहासलाई केलाउँदा, सर्वहारा महिलाहरूको अवस्था सुधार गर्नको लागि बुर्जुवा महिलावादी आन्दोलनले पुर्‍याएको सामान्य योगदानबारे एउटा मात्र तथ्य फेला पार्न समेत हामीलाई गाह्रो छ । सर्वहारा महिलाहरूले आफ्नो जीवनस्तर उकास्ने क्षेत्रमा जे-जस्ता सफलता हासिल गरेका छन्, त्यो सामान्य र विशेषगरी श्रमजीवी वर्गको प्रयासको परिणाम हो । यसरी श्रमको राम्रो अवस्था र थप मर्यादित जीवनको लागि श्रमजीवी महिलाहरूको संघर्षको इतिहास, आफ्नो मुक्तिको लागि सर्वहारा वर्गको संघर्षको इतिहास हो ।

यदि, सर्वहारा वर्गको असन्तुष्टिको खतरनाक विस्फोटको डरले कारखाना मालिकहरूलाई श्रमको मूल्य बढाउन, श्रमकार्यको घण्टा (समय) घटाउन र राम्रो काम गर्ने अवस्था ल्याउन बाध्य पारेन भने के हुन्छ ? यदि, ‘श्रमिक अशान्ति’ को भयलेे पूँजीबाट हुने श्रमशोषणलाई सीमित गर्ने कानुन निर्माण सरकारले नगरे के हुन्छ ?

सामाजिक जनवादले महिलाको पक्षमा गरेजस्तो काम गर्ने विश्वमा कुनै पनि राजनीतिक दल छैन । हरेक श्रमजीवी महिला, सबभन्दा पहिला र प्राथमिक रूपमा श्रमिक वर्गको सदस्य हुन् । र सर्वहारा परिवारका प्रत्येक सदस्यको स्थिति र सामान्य कल्याण जति सन्तोषजनक हुन्छ, त्यति नै सम्पूर्ण श्रमजीवी वर्गलाई ढमहिलालाई समेत) लाभदायक हुन्छ ।

बढ्दो सामाजिक कठिनाइहरूको सामना गर्ने क्रममा, श्रमजीवी वर्गको पक्षमा इमानदारीका साथ लड्ने लडाकुहरूले कतिपय सन्दर्भमा दुःखी र निरास हुनुपर्छ । बुर्जुवा महिला आन्दोलनले सर्वहारा महिलाका लागि कति थोरै काम गरेको छ र श्रमजीवी वर्गको महिलाको जीवनस्तरमा सुधार ल्याउन कति अक्षम छ भन्ने कुरा उनीहरू देख्न सक्दैनन् । समानताका लागि लडिरहेका तर सर्वहारा विश्व दृष्टिकोणलाई स्वीकार नगर्ने वा अझ पूर्ण सामाजिक व्यवस्थाको आगमनमा दृढ विश्वास नबढाउने महिलाहरू मानवताको भविष्य खरानी, डरलाग्दो र अनिश्चित भएको ठान्छन् । उनीहरूका लागि समकालीन पूँजीवादी संसार अपरिवर्तित रहँदासम्म महिलाको मुक्ति अपूर्ण र अप्राप्य हुन्छ । यिनै निराशाले यी महिलाहरूको विचार र संवेदनालाई समातिरहेको हुन्छ ।

आधुनिक संसारमा पूँजीवादी विकृत सामाजिक सम्बन्धमा उच्च मनोबल कायम राख्न त मजदुर वर्ग मात्र सक्षम छ । आफ्ना दृढ र स्तरीय पाइलाका साथ यो वर्ग आफ्नो लक्ष्यतर्फ निरन्तर अगाडि बढ्छ । यसले श्रमजीवी महिलालाई आफ्नो श्रेणीमा तान्छ । सर्वहारा महिला बहादुरीका साथ श्रमको काँडेदार बाटोमा निस्कन्छन् । उनीहरूको खुट्टा तानिन्छ, शरीर च्यातिन्छ । मुक्तिको यो बाटोमा खतरनाक मोडहरू हुन्छन्, क्रूर शिकारी जनावरहरू समीपमा आइलाग्छन् ।

तर यो बाटोको अवलम्बन गरेर मात्र हरेक महिला त्यो टाढाको मनमोहक लक्ष्य – श्रमको नयाँ संसारमा वास्तविक मुक्ति प्राप्त गर्न सक्षम हुन्छिन् । उज्यालो भविष्यतर्फको यो कठिन पदयात्रामा अहिलेसम्म कुनै अधिकारविहीन, अपमानित, दलित दासले आफूसँग जकडिएको दास मानसिकता त्याग्न सिकेर, यी सर्वहारा महिलाले पाइलैपिच्छे आफूलाई स्वतन्त्र कार्यकर्ता एवम् स्वतन्त्र व्यक्तित्वमा परिणत गर्छिन्, जो मानवीय प्रेममा स्वतन्त्र छ । ती उनै महिला हुन्, जसले सर्वहारा वर्गको पंक्तिमा लड्दै, महिलाको काम गर्ने अधिकारलाई विजयी गराउँछिन् । ती उनै ‘कान्छी बहिनी’ हुन्, जसले भविष्यको ‘स्वतन्त्र र समान’ महिलाको लागि मैदान तयार गर्छिन् ।

त्यसो भए के कारणले श्रमिक महिलाले बुर्जुवा महिलावादीहरूसँग मिल्न खोज्नुपर्छ त ? यस्तो गठबन्धनबाट वास्तवमा कसले फाइदा लिन्छ त ? श्रमिक महिलाले त पक्कै पनि होइन । उनको मुक्तिदाता उनी आफैं हुन् । उनको भविष्य उनको आफ्नै हातमा छ । श्रमजीवी महिलाले आफ्नो वर्गीय हितको रक्षा आफैं गर्छिन् र ‘संसार सबै महिलाको साझा’ भन्नेेे ‘ठूलो’ भाषणबाट धोका खाँदिनन् ।

पूँजीवादी महिलाहरूको उद्देश्य श्रमजीवी महिलाहरूको हित विरोधी ढाँचाको समाजलाई कायम राखेर, बुर्जुवाहरूको आफ्नो हित रक्षा गर्नु हो । तर हाम्रो (श्रमजीवी महिलाको) उद्देश्य भने पुरानो संसारको ठाउँमा, सार्वभौमिक श्रमको मन्दिर रहेको, एकता र आनन्दमय स्वतन्त्रताले भरिएको उज्यालो संसार निर्माण गर्नु हो । यो कुरा श्रमजीवी महिलाले बिर्सन्नन् र कदापि बिर्सनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?