
मुम्बई । कोरोना महामारीपछिको ‘न्यु नर्मल’ परिस्थितिमा फिल्म हेर्ने शैलीमा नयाँ प्रवृत्ति देखिएको छ । फिल्म हल बन्द हुँदा धेरै फिल्म ओभर द टप प्लेटफर्ममा रिलिज भए ।
जसको कारण हल पुनः सञ्चालनमा आउँदा यसले फिल्मको व्यापार लयमा फर्कन केही समय लाग्ने अनुमान गरियो । सुरुमा आठ हप्ते नियम पनि लागु गरियो ।
ओटीटी सञ्चालकले आफ्नो प्लेटफर्ममा फिल्म रिलिज गर्न हलमा भन्दा पनि महंगो शुल्क तिर्न तयार भएपछि उक्त नियम चार हप्तामा झर्यो । बक्स अफिसमा फिल्मले कमजोर कमाइ गरेपछि यस्तो नियम ल्याइएको थियो ।
तर केही महिनायता सिनेमा हलहरु शतप्रतिशत अकुपेन्सीसहित सञ्चालन हुन थालेका छन् । केही फिल्मले त कीर्तिमानी कमाइ समेत गरेका छन् । यस्तोमा केही सरोकारवालाले हलमा प्रदर्शन भएको आठ सातापछि ओटीटीमा रिलिज गर्न पाइने नियमलाई पुनः ब्युँताएका छन् । अगस्ट १ देखि यो नियम लागु हुने बलिउड हंगामाले जनाएको छ ।
यसको अर्थ रिलिज तयारीमा रहेका रक्षाबन्धन, लाल सिंह चड्डा, लाइगर, ब्रह्मास्त्रले हलमा आठ साता बिताएपछि मात्र ओटीटीमा प्रदर्शन हुने मौका पाउनेछन् । भारतको ठूलोमध्येको एक मल्टिप्लेक्स चेन सिनोपोलिस इन्डियाका कार्यकारी अधिकृत अक्षय राठीले वितरक र प्रदर्शकको सहमतिपछि यस्तो नियम ल्याइएको बताए ।
प्रतिक्रिया 4