
२६ असार, सुर्खेत । नेपाली कांग्रेसले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेकै कारण कर्णालीमा पहिलो शक्ति बनेको निष्कर्ष निकालेको छ ।
२०७४ को स्थनीय निर्वाचनमा कर्णाली प्रदेशमा तेस्रो स्थानमा रहेको कांग्रेस २०७९ को निर्वाचनमा पहिलो शक्ति बनेको छ ।
कर्णालीमा कांग्रेसले आयोजना गरेको समीक्षा बैठकले गठबन्धन नै पहिलो पार्टी बन्ने आधार भएको निष्कर्ष निकालेको कांग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमन शाहीले अनलाइनखबरलाई बताए ।
प्रवक्ता शाहीका अनुसार कर्णालीमा कांग्रेसले २५ नगरपालिकामध्ये १२ प्रमुख, ९ उपप्रमुख, ५४ गाउँपालिकामध्ये २० अध्यक्ष, १८ उपाध्यक्ष जितेको छ । त्यस्तै १० वटा जिल्ला रहेको कर्णालीमा ५ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख जितेको छ ।
‘०७४ मा तेस्रो स्थानमा रहेको पार्टीलाई पहिलो बनाउन सफल भएका छौं, पार्टी भित्रै अन्तर्घात नभएको भए ४० बढी पालिका जितिने हाम्रो निष्कर्ष हो,’ प्रवक्ता शाहीले भने ।
कांग्रेस प्रदेश समितिले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न निर्देशन समेत दिएको छ । बैठकमा सहभागी कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीका नेता कार्यकर्ता अनुशासित हुँदै विधि र पद्धतिमा हिँड्नुपर्ने सुझाव दिएका थिए । ‘पार्टीको साख जोगिने गरी काम गर्नुहोस् । भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुस’ मुख्यमन्त्री शाहीलाई उदृढ गर्दै प्रवक्ता शाहीले भने ।
साथै स्थानीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार पराजित गर्न सहयोग गर्ने नेताहरुलाई कारबाही गर्ने कांग्रेसले जनाएको छ । कर्णाली प्रदेश समितिले अन्तर्घातको विषयमा जिल्ला समितिबाट यथार्थ प्रतिवेदन पनि छिटो दिन आग्र गरेको छ ।
प्रतिक्रिया 4