
२७ असार, विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा पूँजीगततर्फ ९० प्रतिशत बजेट खर्च गरेको छ ।
असार २५ गतेसम्म प्रदेश सरकारले विनियोजन भएको बजेटको ९० प्रतिशत खर्च गरेको हो । प्रदेश १ सरकारको बजेट खर्चमा यो नयाँ रेकर्ड हो ।
प्रदेश १ ले चालु आर्थिक वर्षका लागि पूँजीगततर्फ १८ अर्ब छ करोड ३० लाख ८५ हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये १६ अर्ब ८५ करोड बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले जानकारी दिए । यो खर्च ९० प्रतिशत रहेको हो । गत आर्थिक वर्ष प्रदेश सरकारले पूँजीगत खर्च बढीमा ६५ प्रतिशतमात्रै गरेको थियो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले (सशर्त अनुदान थपसहित) ३४ अर्ब ५४ करोड १३ लाख बराबरको बजेट ल्याएको थियाे । जसमध्ये ३० अर्ब २८ करोड खर्च भएको छ । चालुतर्फ बजेट १६ अर्ब ६३ करोड आठ लाख बजेट मध्ये ७९ प्रतिशत बजेट खर्च भएको छ । स्थानीय तहको अनुदान ९८ प्रतिशत बजेट खर्च भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले यसअघि कुनै पनि सरकारले ९० प्रतिशत बजेट खर्च गर्न नसकेको बताए । उनले याे खर्च ऐतिहासिक भएकाे बताए । उनले भने, ‘प्रदेशको मात्र होइन कुनै पनि सरकारले यति खर्च गर्न सकेको छैन आजसम्म ।’
‘प्रदेश १ को चालु वर्षको बजेट कार्यान्वयन पूरा हुँदै गर्दा असार २५ सम्मको जम्मा खर्च ३० अर्ब २८ करोड अर्थात् ८७.१३ प्रतिशत पुगेको छ’ आर्थिक मामिला मन्त्रालयका सचिव दाहालले भनेका छन्, ‘ चालु ७९ प्रतिशत र पूँजीगत खर्च १६ अर्ब ८५ करोड अर्थात् ९० प्रतिशत रहेको छ भने स्थानीय तहको अनुदान ९८ प्रतिशत खर्च भएको छ ।’
प्रतिक्रिया 4