
२७ असार, काठमाडौं । आज अर्थात सोमबार विश्व जनसंख्या दिवस । हरेक वर्ष जुलाई ११ तारिखका दिन यो दिवस मनाइन्छ ।
सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरे अनुसार सन् १९९० देखि यो दिवस मनाउन लागिएको हो ।
किन चाहियो दिवस ?
सन् १९८७ को जुलाई ११ का दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो । बढ्दो जनसंख्याका कारण पर्यावरणमा पर्ने असर, विकास लगायतका क्षेत्रमा पर्ने असरका बारेमा जनचेतना जनाउन आवश्यक ठानियो । त्यसैले राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गर्यो ।
संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार विश्व जनसंख्या दिवसलाई मानवीय प्रगतिको खुसीको रुपमा मनाउन पर्छ । किनकी चुनौतीका वावजुद विश्वमा अहिलेसम्मकै धेरै शिक्षित र स्वस्थ मानिस छन् । मानिसलाई समस्याका रुपमा होइन, समाधानका रुपमा हेर्नुपर्छ ।
यसैलाई ध्यानमा राखेर यो वर्ष दिवसको नारा ‘८ अर्ब मान्छेको विश्व : सबैका लागि उज्ज्वल भविष्य तय गर्नका लागि बढेको कदम, जहाँ अवसर होस्, अधिकार होस र सबैलाई रोजाइको विकल्प होस्,’ तय गरिएको छ ।
कति छ विश्वमा जनसंख्या ?
संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ९५ करोड ४० लाख छ ।
जसमा ६५ प्रतिशत मानिस १६ देखि ६४ वर्ष उमेरका छन् ।
६५ वर्षभन्दा माथिका १० र १४ वर्षभन्दा मुनिका २५ प्रतिशत मानिस छन् ।
कोषका अनुसार अबको केही महिनामा विश्वको जनसंख्या ८ अर्ब पुग्ने छ ।
कस्तो छ जनसंख्याको बढ्दो दर ?
२ सय वर्षअघि विश्वको जनसंख्या १ अर्ब थियो र त्यो १ अर्ब जनसंख्या हुन लाखौं वर्ष लागेको थियो । तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्षमात्र लाग्यो । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो । त्यसयताको ११ वर्षमा विश्वमा १ अर्ब जनसंख्या थपिँदै छ ।
२० औं शताब्दीको मध्यपछि विश्वमा जनसंख्या तीव्र गतिमा बढेको छ । सन् १९६५ देखि १९७० को बीचमा सबैभन्दा धेरै प्रतिवर्ष २.१ प्रतिशतको दरमा जनसंख्या बढेको थियो । सन् १९५० देखि २०२० मा विश्वको जनसंख्या ३ गुणा बढेको हो ।
जनसंख्या कोषले सन् २०३० मा विश्वको जनसंख्या साढे ८ अर्ब र सन् २०५० मा ९ अर्ब ७० करोड पुग्ने अनुमान गरेको छ यस्तै सन् २१०० मा पृथ्वीमा १० अर्ब ९० करोड मान्छे हुने उसको अनुमान छ ।
प्रजनन दर र मानिसको आयु बढ्नु तथा तीव्र शहरीकरण, बसाइँ सराइँलगायतको कारणले जनसंख्या बढेको छ । तर पछिल्ला केही दशकको तुलना गर्ने हो भने प्रजनन् दर र मान्छेको आयुमा आकाश पातलको फरक देखिन्छ । सन् १९७० को दशकको सुरुमा विश्वमा एक महिला बराबर औसतमा ४.५ वटा बच्चा हुन्थे । तर सन् २०१५ मा यो घटेर प्रति महिला २.५ भन्दा कम बच्चा हुन्छन् ।
सन् १९९० को दशकमा मान्छेको आयु ६४.५ वर्ष थियो, त्यो बढेर सन् २०१९ मा ७२.६ वर्ष पुगेको छ ।
सन् २००७ मा ग्रामीण क्षेत्रमा बस्ने भन्दा शहरी क्षेत्रमा बस्ने धेरै भएका थिए । सन् २०५० सम्ममा विश्वका ६६ प्रतिशत मानिसको बसोबासा शहरी क्षेत्रमा हुने छ ।
नेपाल र छिमेकी देशको जनसंख्याको स्थिति
नेपालमा १९६८ सालदेखि हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । पहिलो जनगणना गर्दा देशको जनसंख्या ५६ लाख ३८ हजार ६ सय ४९ थियो । पहिलो जनगणनाको ११० वर्ष पहिला सन् १८०० मा नेपालको जनसंख्या ४० लाख रहेको अनुमान छ । नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
विश्वको कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या एसिया महादेशमा छ । जसमा पनि धेरै जनसंख्या भएका देश नेपालसँग जोडिएका छन् । चीन र भारतमा मात्रै विश्वको कुल जनसंख्याको करिब ३५.८ प्रतिशत मान्छे बस्छन् ।
विश्वमा धेरै मानिसको बसोबास रहेको चीनमा १ अर्ब ४४ करोड जनसंख्या छ । जहाँ सन् १८०० मा ३३ करोड जनसंख्या थियो ।
यस्तै अर्को छिमेकी देश भारतको जनसंख्या १ अर्ब ४० करोड छ ।
चीनमा जनसंख्या वृद्धि घट्दो दरमा छ भने भारतमा बढ्दो । त्यसैले अबको ५ वर्षमा भारत विश्वको सबैभन्दा धेरै जनसंख्या हुने देश बन्ने अनुमान छ ।
भ्याटिकन सिटी विश्वमा सबैभन्दा कम जनसंख्या भएको देश हो । जसको जनसंख्या मात्र ८०० छ ।
– एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4