
२७ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण नेपालमा आर्थिक संकटका संकेतहरु देखा पर्न थालेको भन्दै देशलाई जोगाउन विदेशी लगानी भित्र्याउन आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आयोजित कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन् ।
उनले भने, ‘विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ ।’
उनले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई जोगाइराख्न संसारभरमा रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे। उनले भने, ‘ नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोस् र नेपालमा बढी भन्दा बढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ ।’
उनले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परिरहेको र महंगी बढेको, र त्यसको मारमा हामी नेपाली पनि परेको धारणा राखे । लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उनको भनाइ थियो ।
उनले नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दाधेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेश गरे । आईएमई समूहका अध्यक्ष समेत रहेका ढकालले आफूहरुले गैरआवासीय नेपालीहरुसँग लगानी गरेकाले त्यो अनुभव पनि रहेको बताए ।
प्रतिक्रिया 4