
२७ असार, विराटनगर । विराटनगर महानगरपालिकाले आन्तरिक आम्दानीको ठूलो हिस्सा ओगटेको क्षेत्रको कर घटाएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको महानगरपालिकाले आन्तरिक आम्दानीको ठूलो हिस्सा ओगटेको सम्पत्ति कर र विद्यालय कर घटाएको हो ।
विराटनगर महानगरपालिकाले सम्पती करमा २० प्रतिशत घटाएको छ । ३० लाखसम्मको सम्पती कर २० प्रतिशत घटाएको हो । दशौं नगरसभाको दोस्रो बैठकबाट पारित बजेट नीति तथा कार्यक्रम मार्फत महानगरपालिकाले ३० लाख भन्दामाथिको सम्पती करमा २ प्रतिशत छुट दिने निर्णय गरेको राजस्व महाशाखाका अधिकृत सरोज गौतमले जानकारी दिए ।
विराटनगर महानगरपालिकाले फुस्रो घरको कर ५० प्रतिशत कटौती गरेको छ । यसअघि फुस्रा घरको वार्षीक कर एक सय रुपैयाँ थियो । साउनबाट ५० रुपैयाँमा झरेको छ ।
महाननगरपालिकाले संस्थागत विद्यालयको वर्गीकरणका आधारमा वर्षीक करको दर पनि घटाएको छ । महानगरले चालु आर्थिक वर्षसम्म क वर्गका संस्थागत विद्यालयबाट ९० हजार, ख वर्गाकाबाट ५० हजार र ग वर्गका विद्यालयका २० हजार नविकरण शुल्क संकलन गर्दै आएको थियो ।
साउनबाट क वर्गका विद्यालयका लागि ७५ हजार, ख वर्गका विद्यालयलका लागि ४० हजार र ग वर्गका विद्यालयलका लागि १५ हजार वर्षीक कर तोकेको छ । महानगरपालिकाले विद्यालयको स्वामित्व हस्तान्त्रणका लागि १० हजार, स्थान परिर्वन र नामसारीका लागि २० हजार कर तोकेको छ ।
यसअघि स्थान, नाम परिवर्तनको शुल्क आधारभूत तहसम्मको पाँच हजार र माध्यमिक तहसम्मको १० हजार रुपैयाँ थियो ।
स्थानीय तह निर्वाचनमा मेयर- उपमेयरका उम्मेदवारले करको दर घटाउने र दायरा बढाउने बताएका थिए । कांग्रेसबाट निर्वाचित मेयर नागेश कोइराला र एमालेबाट निर्वाचित उपमेयर शिल्पा निरला कार्कीले करको दर घटाएका हुन् ।
चालु आर्थिक वर्षमा सिटी सफाई दर्ता र नविकरण शुल्क ३ हजार चार सय रुपैयाँ थियो । साउनबाट नविकरण शुल्कमा पाँच सय रुपैयाँ घटाएर ३ हजार तोकिएको छ । दर्ता र नविकरण महिलाको नामबाट भए २५ प्रतिशत छुट दिने महानगरपालिकाले व्यवस्था गरेको छ ।
सार्वजनिक स्थान तथा सडकमा चौपाया छाड्दा लाग्ने जरिवाना महानगरपालिकाले घटाएको छ । यसअघि रागाँ भंैसी सार्वजनिक स्थानमा छाडे ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
साउनबाट २५ सय तोकिएको छ । गाई गोरुको २ हजार तोकिएको छ । यसअघि २ हजार पाँच सय थियो । खसी बाख्राको जरिवाना पाँच सय तोकिएको छ । यसअघि एक हजार रुपैयाँ थियो ।
महानगरपालिकाले रक्सी र मदिरा जन्य पसल दर्ता शुल्क बढाएको छ । यसअघि साना रक्सी तथा मदिरा जन्य पसलको कर पाँच हजार रुपैयाँ थियो । साउनबाट १० हजार बनाइएको छ । मझौलाको ९ हजारबाट बढाएर २० हजार बनाइएको छ । ठूलाको १५ हजारबाट बढाएर ३० हजार बनाइएको छ ।
महानगरले घर नक्सा सम्बन्धी उजुरी दस्तुर बढाएको छ । यसअघि घर नक्सा सम्बन्धी उजुरी दस्तर पाँच सय रुपैयाँ तोकेको थियो । साउनबाट एक हजार रुपैयाँ कायम गरेको छ ।
शौचालय शुल्क बढ्यो
विराटनगर महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोग शुल्क बढाएको छ । महानगरपालिकाले यसअघि सार्वजनिक शौचालयमा लघुशंका(पिसाव) गरेबापत २ रुपैयाँ र दिसा(दिर्घशंका) गरे पाँच रुपैयाँ शुल्क तोकेको थियो ।
साउनबाट पिसाव गरेको शुल्क एक पटकको पाँच रुपैयाँ कायम गरेको हो । दिसा गरेबापतको शुल्क भने यथावत राखेको छ ।
थपियो दायरा
महानगरपालिकाले करको दायरा वृद्धि गर्ने क्रममा वातावरणीय अध्ययनको कर थप गरेको छ । संक्षिप्त वातावरणीय अध्ययन स्विकृतिको पाँच हजार र आइइई स्वीकृतिको १० हजार शुल्क तोकेको छ ।
वातावरणीय अध्ययन सिफारिस दस्तुर २ हजार, आईई सिफारिस दस्तुर तीन हजार र इआईए सिफारिस दस्तुर पाँच हजार तोकेको छ । यसअघि वातावरणीय अध्ययन स्वीकृत र आईई र इआइए दस्तुर तोकिएको थिएन् ।
महानगरपालिकाले ड्राइभिङ सेन्टरलाई पनि करको दायरामा ल्याएको छ । हल्ला सवारी चालक तालिम सेन्टर सञ्चालनका लागि ५ हजार र भारी सवारीका लागि १० हजार कर निर्धारण गररेको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७९-८० मा एक अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर जेठसम्म जम्मा ३९ करोड ८५ लाख राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७७–०७८ मा महानगरले ९५ करोड ७५ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर सो वर्ष महानगरको आन्तरिक आम्दानी ४१ करोड ४२ लाख मात्रै भयो ।
प्रतिक्रिया 4