
२७ असार, काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्ने बताएका छन् ।
राष्ट्रियसभा गृहमा सोमबार बसेको उपत्यकाका स्थानीय तहका प्रमुखहरु सहभागी संयुक्त बैठकमा उनीहरुले फोहोर व्यवस्थापन लगायत अन्य साझा समस्याको दिगो व्यवस्थापन गर्न काठमाडौं महानगरले नेतृत्व लिनुपर्ने प्रस्ताव राखेका हुन् ।
ट्राफिक व्यवस्थापन, खानेपानी र ढल निकास जस्ता समस्याको विषययहरुमा संयुक्त समाधान आवश्यक रहेको भन्दै उनीहरुले यसका लागि सघाउन आफूहरु तयार रहेको बताएका छन् ।
फोहोर वर्गीकरणमा साझा धारणा
बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले बैठकमा फोहोरको स्रोतमा नै वर्गीकरण गर्नुपर्ने, उत्पादनमा कमी ल्याउने विधि अपनाउनु पर्ने, प्लास्टिकको विकल्पमा झोलाहरुको प्रयोग बढाउनुपर्ने, ‘जिरो वेस्ट’ गर्नुपर्ने जस्ता विषयहरुमा एउटै धारणा बनाउन एकमत देखिएको जानकारी दिइन् ।
उपप्रमुख लामाकाअनुसार काठमाडौं महानगरले फोहोर व्यवस्थापनका लागि स्रोतको व्यवस्था गरे अरु स्थानीय तहले जग्गा व्यवस्थापन गर्न सक्ने बताएका थिए ।
स्रोतमै वर्गीकरण शतप्रतिशत प्रभावकारी
बैठकमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले उपत्यकाका पालिकाहरुमा फोहोरमैलासम्बन्धी केही साझा र केही भिन्न समस्या रहेकोले संयुक्त प्रयासबाट समाधान निकाल्नु पर्ने बताएका छन् ।
‘यी मध्ये फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकालौं । महानगरले काम पनि गरिरहेको छ । नेतृत्व पनि गरिरहेको छ । भोलि पनि यसलाई निरन्तरता दिनेछ’ साहको भनाइलाई उधृत गर्दै उनको सचिवालयले लेखेको छ ।
घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै वर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त र शतप्रतिशत प्रभावकारी हुने मेयर साहको भनाइ छ ।
मेयर साहले भने, ‘फोहोरलाई ग्याँसका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखियो । अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो । यस्तै बिजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन फिर्ता लिन सकिने भयो । जैविक फोहोरलाई मल बनाउन करिब २ सय देखि २ सय ५० रोपनी जग्गा आवश्यक पर्छ । यसका लागि सहकार्य गरौं ।’
छलफलमा नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीसहित पदाधिकारी सहभागी थिए ।
उनीहरुले कर प्रणाली, ट्राफिक व्यवस्थापन, वातावरणीय सुधार, नदी तथा सडक सञ्जालको विकास, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा पालिकाहरुको नेतृत्व हुनु पर्ने बताएका छन् ।
प्रतिक्रिया 4