
२७ असार, काठमाडौं । जेठ महिनामा वैदेशिक मुद्रा सञ्चितिमा आंशिक सुधार भएको छ । जेठ मसान्तमा आइपुग्दा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति कायम भएको छ ।
वैशाख मसान्तमा यस्तो सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर थियो । एकै महिनामा २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको सञ्चिति बढेको छ ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले घटेर जेठ २०७९ मा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले घटेर ९ अर्ब ४५ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
विदेशी मुद्रामध्ये १० खर्ब ३१ अर्ब ८९ करोड रुपैयाँ केन्द्रीय बैंकमा र बाँकी १४४ अर्ब ९५ करोड रुपैयाँ अन्य बैंकहरुसँग छ ।
आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
जेठमा विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पर्याप्त थियो ।
२०७९ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २४.३ प्रतिशत, कुल आयातसँग ५६.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग २२.० प्रतिशत छ ।
प्रतिक्रिया 4