
२७ असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ औं महिनाको अवधिमा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जेठ महिनामा मात्र ९३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
चालु आवमा गत आवको तुलनामा ३.८ प्रतिशतले विप्रेषण आप्रवाह वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।
जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३ लाख १३ हजार ३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया 4