
काठमाडौं । ग्लोबल आईएमई बैंकको पहुँच ७७ वटै जिल्लामा पुगेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी सुरेन्द्रराज रेग्मीका अनुसार लक्ष्य अनुसार नै बैकले ७७ वटै जिल्लामा सेवा विस्तार गरेको हो । बैंकको सेवा विस्तारबारे उनले भने, ‘’उदेश्य के लिनु उडी छुनु चन्द्र एक’ भने झैं हामीले लिएको लक्ष्य पूरा गरेका छौं ।’ ११ महिनामै बैंकले लिएको लक्ष्य पूरा भएको उनी बताउँछन् ।
गत २ असारमा बैंकिङ वृतमा नयाँ समाचार फैलियो, ‘ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरमा गर्ने सहमति ।’ खासै चर्चा र छलफल नै नभएका दुई बैंकबीच एकाएक मर्जर सम्झौतामा एक्सक्लुसिभ हस्ताक्षर नै भएपछि यसले बैंकिङ वृतलाई चकित तुल्यायो ।

मर्जरको प्रारम्भिक समझदारी पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरे । यो सम्झौताले पूर्णाकार पाए अबको केही समय पछि ५२ अर्ब कूल पूँजीसहित ग्लोबल आईएमई मुलुककै सबैभन्दा ठूलो बैंक बन्ने छ ।
मर्जर सम्झौताले बजार तातिरहेको ठिक २ साता पछि बैंकले व्यापार विस्तारको पुनः अर्को नयाँ कीर्तिमान कायम ग¥यो, ‘देशको ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिले बैंक ।’
१७ असारमा बैंकले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका–३, दुनै बजारमा शाखा सञ्चालनमा ल्यायो । यो बैंकको २८९ औं शाखा हो । जसले बैंकलाई नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनायो ।
यससँगै देशभर बैंकको सेवा केन्द्र ८७५ भन्दा बढी नाघेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए । अब बैंकसँग २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय पुगेका छन् ।
दुनै बजारमा सञ्चालनमा ल्याइएको बैंकको २८९ औं शाखा काठमाडौंमा रहेको बैंकको अन्य शाखा बराबर नै सुविधाको छ । निक्षेप जम्मा, कर्जा प्रबाह, रेमिट्यान्स, कार्ड, आश्वा लगायतका सेवा दुनै शाखामा उपलब्ध छन् ।
सुरक्षाका प्रशस्त सुविधासहित दक्ष कर्मचारी दुनै शाखामा खटिएका छन् । ‘कुनै पनि बैकिङ सेवाका लागि अब ग्लोबलको दुनै शाखा तयार छ,’ रेग्मीले भने, ‘पूर्वाधार, प्रविधि सबै हिसाबले हामी तयार छौं ।’
‘सबैका लागि बैंक’ भन्ने अवधारणा अन्तर्गत त्यसका लागि पहुँच विस्तारमा बैंकले चालु आवको आफ्नो कार्यक्रममा लक्ष्य तय गरेको थियो । रेग्मीकाअनुसार पहुँच विस्तार भनेको सबै मानिसका लागि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्नेे हो । त्यसका लागि सबै जिल्लामा बैंक भन्ने अवधारणा चालु आर्थिक वर्षको सुरुवातमा बैंकले काम थालेको थियो ।
‘बैंकका अध्यक्ष चन्द्र ढकाल पनि बैंक ७७ जिल्लामा पुग्नुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो बैंक व्यवस्थापनले पनि यही उद्येश्य पूरा गर्न मेहनत गर्यो,’ रेग्मीले भने, ‘भौगोलिक जटिलताका कारण बैंकिङ उपकरणका लागि केही चुनौती भए पनि हामी अन्ततः सफल भएरै छाड्यौं । यसै आर्थिक वर्षमा देशका ७७ जिल्लामा बैंकको सेवा विस्तार भयो ।’ उच्च व्यावसायिक अभ्यासका साथ विशाल लक्ष्य पछ्याए त्यसलाई पूरा गर्न कुनै कठिनाइ नभएको सन्देश बैंकिङ वृतमा आफूहरुले दिएको बैंकले जनाएको छ ।
अब बैंकको लक्ष्य भनेको प्रारम्भिक मर्जर सम्झौतालाई अन्तिम रुप दिनु रहेको भन्दै यसका लागि काम भइरहेको रेग्मीले बताए । बैंक अफ काठमाण्डूसँगको मर्जर पछि बैंकको आकार र सेवा थप फराकिले हुने भन्दै उनले भने, ‘सबैका लागि बैंक त्यो पनि उत्कृष्ट र उच्च व्यावसायिक सेवासहितको भन्ने अवधारण ग्लोबलले पूरा गर्नेछ ।’
प्रतिक्रिया 4